तेहरान । इरानका राष्ट्रपतिमसुद पेजेश्कियानले नेपालका प्रधानमन्त्रीबालेन्द्र शाहलाई बधाई दिँदै दुई देशबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार पठाइएको बधाई सन्देशमा उनले प्रधानमन्त्री शाहको नियुक्तिलाई स्वागत गर्दै नेपाल–इरान सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा अघि बढ्न चाहेको बताएका हुन्। उनले करिब छ दशकदेखि कायम रहेको द्विपक्षीय सम्बन्धलाई मित्रवत् र आपसी सम्मानमा आधारित रहेको उल्लेख गर्दै त्यसलाई अझ विस्तार गर्ने अवसर रहेको बताए।

ad

राष्ट्रपति पेजेश्कियानले आर्थिक, व्यापार, ऊर्जा, पर्यटन, कृषि तथा शिक्षाजस्ता क्षेत्रमा सहकार्य बढाउन इरान पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्। उनका अनुसार यी क्षेत्रहरूमा सहकार्य विस्तारले दुवै देशलाई पारस्परिक लाभ पुग्नेछ।

सन्देशमा उनले प्रधानमन्त्री शाहको अनुभव र नेतृत्व क्षमताले नेपाल–इरान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले प्रधानमन्त्रीको सफल कार्यकालको कामना गर्दै नेपाली जनताको समृद्धि र प्रगतिका लागि शुभेच्छा व्यक्त गरेका छन्।

उक्त सन्देश इरानको सरकारी समाचार संस्थाIRNAले सार्वजनिक गरेको हो। नयाँ सरकार गठनपछि विभिन्न देशका नेताहरूबाट बधाई आउने क्रम जारी रहँदा इरानले पनि औपचारिक रूपमा आफ्नो धारणा राखेको हो।

यसैबीच, क्षेत्रीय तनावका बीच आएको यो सन्देशलाई नेपाल–इरान सम्बन्धलाई थप सक्रिय बनाउने संकेतका रूपमा पनि हेरिएको छ।