
काठमाडौँ । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, संवाद र आत्मनिर्भरता आवश्यक रहेको बताएका छन्।
सोमबार सार्वजनिक गरिएको शुभकामना भिडियो सन्देशमा उनले विगतका त्रुटि र कमजोरी सच्याउँदै सहमति र सहकार्यका आधारमा समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। 'व्यक्ति मात्र परिवर्तन गरेर देश रूपान्तरण हुँदैन भन्ने अनुभूति हामीले गरिसकेका छौं,' उनले भने।
उनले राजनीतिक प्रणाली, शासनशैली र राज्य संरचनामा भएका परिवर्तनलाई ‘कोरा रूपान्तरण’ मात्र भएको टिप्पणी गर्दै मुलुक विभिन्न समस्याले घेरिएको उल्लेख गरेका छन्। साथै, पछिल्लो समय राजनीतिमा युवापिँढीको बढ्दो सहभागितालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।
पूर्वराजा शाहले देशको आन्तरिक सुरक्षा अवस्था कमजोर बन्दै गएको दाबी गर्दै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्। 'कुनै पनि नागरिकले शारीरिक, मानसिक वा आर्थिक त्रास सहनु नपरोस्,' उनको भनाइ छ।
उनले राजनीतिमा निषेधको संस्कृतिले समाधान नदिने उल्लेख गर्दै संवैधानिक बाटोमार्फत राष्ट्रिय समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन्। साथै, देशको सनातन पहिचान जोगाउँदै न्याय, शान्ति र समृद्धि सुनिश्चित गर्न सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ थियो।
विश्व परिवेश अस्थिर बन्दै गएको सन्दर्भ उल्लेख गर्दै उनले नेपालले आफ्नो अस्तित्व जोगाउने उपाय खोज्नुपर्ने बताए। 'हामीले देशलाई पराधीनताबाट जोगाउनु छ,' उनले सन्देशमा भने।
उनका अनुसार देशका प्राकृतिक र आर्थिक स्रोतको सही सदुपयोग गर्न सके मात्र मुलुक पुनः स्थायित्व र समृद्धिको दिशामा अघि बढ्न सक्नेछ।










Facebook Comments