काठमाडौँ । गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दलकै सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सोमबार बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको सामूहिक भेटका क्रममा बालेन्द्र शाहसमक्ष गृहमन्त्री सुधन गुरुङको काम गर्ने तरिकाबारे प्रश्न उठाइएको हो। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई सांसदले आफ्नै पार्टीका गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

ad

स्रोतका अनुसार धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङ र काभ्रेपलाञ्चोक–१ का मधुकुमार चौलागाईंले गृहमन्त्री गुरुङले जिल्लामा पुग्दा समन्वय नगरेको गुनासो गरेका थिए। उनीहरूले मन्त्रीले एकल ढंगले कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रतिनिधि र जनताका मुद्दा उठाउन अवसर नपाएको बताएका थिए।

हालै गृहमन्त्री गुरुङ धादिङ र काभ्रेपलाञ्चोक पुगेर खानी क्षेत्रको अनुगमनमा गएका थिए। तर, उक्त भ्रमणका क्रममा सम्बन्धित क्षेत्रका सांसदहरूसँग पूर्वसमन्वय नगरेको भन्दै असन्तुष्टि बढेको हो।

भेटमा प्रधानमन्त्री शाहले भने उठाइएका गुनासोबारे कुनै स्पष्ट प्रतिक्रिया नदिएको सहभागी एक सांसदले बताएका छन्।