
नीरज आचार्य
नेता, नेकपा एमाले
अहिले नयाँ सरकार बनिसकेको छ, नयाँ सरकारको यो १५ दिनको काम कारबाही प्रति नेकपा एमालेको टिप्पणी के हो ?
सरकार बनेको १५ दिन मात्रै भएको छ । १५ दिन सरकारको मूल्यांकन गर्ने बेला भइसकेको छैन । अहिले सरकारको मूल्यांकन गर्ने समय होइन र हामी समग्रमा त यसको यसको मूल्यांकन गर्दैनौँ । तर सरकार जुन ढंगले यसको सुरुवाती गरेको छ, सुरुवाती प्रतिशोधपूर्ण र अत्यन्तै अराजक ढंगले सरकार अगाडि बढ्दै छ । यसले मुलुकलाई दुर्घटनातर्फ लान्छ । यसमा हामी सचेत छौँ, सतर्क छौँ । तर समग्रमा सरकारको कामको मूल्यांकन गर्ने बेला भएको छैन अहिले ।
कामको मूल्यांकन गर्ने बेला त भएको छैन तर सरकार बनेको भोलिपल्ट २४ घण्टा पनि नबित्दै एमालेमाथि आक्रमण भयो ?
सरकार प्रतिशोधपूर्ण र अराजक ढंगले प्रस्तुत हुन खोजेको छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई आधार बिना पक्राउ गर्ने काम गर्यो र अन्तत्वगत्वा मुद्दा लगाउने प्रमाणहरू नजुटेको हुनाले छोड्नु नै पर्यो । तर सरकार कुनै सोच विचार नगरीकन अत्यन्तै आक्रामक र अत्यन्तै प्रतिशोधपूर्ण ढंगले यस्ता कदमहरू चाल्दै छ । यसले दीर्घकालीन रूपले मुलुकलाई अस्थिरता र द्वन्द्वकै बाटोमा लान्छ । यसमा हामीले होसियारीपूर्वक सतर्कतापूर्वक भनिरहेका छौँ । सरकार गम्भीर ढंगले कानुनी र संवैधानिक ढंगले आफ्ना स्टेपहरू चालोस् भन्ने कुरा हामीले गरिरहेका छौँ ।
सरकारले तपाईंहरूका अध्यक्षलाई पक्राउ गर्दा मैले शब्द प्रयोग गरे सडकमा ‘ताण्डव’ देखाउनुभयो नि त्यो कत्तिको ठिक थियो ?
ताण्डव हामीले सडकमा आएर देखाएका छैनौँ । यो शब्द मिलेन जस्तो लाग्यो । पार्टीको अध्यक्ष र पूर्वप्रधानमन्त्री पक्राउ परिसकेपछि कार्यकर्ताले आक्रोशपूर्वक पहिलो दिन जुन प्रतिक्रिया जनाए । पार्टीले त हामीले कानुनी लडाइँ संसदभित्रबाट लड्ने संसदीय संघर्षको तयारी संसद्बाट प्रतिवाद गर्ने सडकबाट प्रतिवाद गर्ने राजनीतिक रूपले कानुनी ढंगले यसको प्रतिवाद गर्ने भनेका थियौँ । हामीले शान्तिपूर्ण नै कार्यक्रमहरू राखेका थियौँ । शान्तिपूर्ण कार्यक्रममा सरकारका तर्फबाट जे दमन भयो त्यो अत्यन्तै खेदजनक छ । एमालेका तर्फबाट ताण्डव होइन सरकारका तर्फबाट ताण्डव गरिएको थियो ।
अब तपाईंको अध्यक्ष अहिले रिहा हुनुभएको छ । अब नेकपा एमाले कसरी अगाडि बढ्छ ?
पहिलो कुरा त एमालेको अध्यक्ष केपी शर्मा ओली १३ दिनपछि रिहा हुनुभएको छ । अध्यक्ष आफै अस्वस्थ भएको हुनाले उहाँको पित्तथैलीको अप्रेसन छ सोमबार । अध्यक्ष स्वस्थ भएर घर फर्किसकेपछि एमालेको बैठक बस्छ । हामीले चुनाव पछि पार्टीको समग्र निर्वाचनको समिक्षा हुने गरी पार्टीको बैठकहरू पनि बस्न पाएका छैनौँ । निर्वाचनको परिणाम आउन बित्तिकै अध्यक्षको पिताजीको निधन भयो । उहाँ शोकमा हुनुहुन्थ्यो । शोक सकिनेबित्तिकै अर्को दिन उहाँलाई सरकारले गिरफ्तार गरिहाल्यो । त्यसले गर्दा हामीले कुनै कामहरू गर्न पाएका छैनौँ । कुनै छलफलहरू हुन पाएको छैन पार्टीमा । यसको समीक्षा हुन पाएको छैन पार्टीमा । त्यसले गर्दा पहिलो कुरा त अध्यक्ष स्वस्थ भएर फर्किएपछि पार्टीको बैठक बस्छ र समग्र निर्वाचन र आजको राजनीतिक परिस्थितिका बारेमा पार्टीले समीक्षा गर्छ । पार्टीलाई कसरी अगाडी बढाउने नेकपा एमालेको गुमेको जनमत कसरी हामी फर्काउन सक्छौँ यसका बारेमा पार्टीले योजना बनाउँछ । एमाले अगाडि बढ्छ ।
गुमेको जनमत नेकपा एमालेले अब कसरी फर्काउने त्यो त तपाईं पनि एकजना जिम्मेवार नेता भएका नाताले मैले यो प्रश्न तपाईंलाई राखेँ ?
हामी यसैमा छलफल गरिरहेका छौँ र मातहतका कमिटीहरूका प्रतिवेदनहरू पनि लिरहेका छौँ । हामी कहाँ पुग्यौँ र हाम्रो जनमत गुम्नुको पछाडि जुन यो एक प्रकारले जादुमय परिणाम आयो निर्वाचनको । यो परिणामका पछाडिका कारणहरू के हुन सक्छन् र हामी कहाँ चुक्यौँ भन्ने सन्दर्भमा हामीले तलका कमिटीहरू वडा कमिटी पालिका कमिटी जिल्ला कमिटी प्रदेश कमिटीहरूमा यसको समीक्षा हुँदै छ । यसका रिपोर्ट पनि आउँदै छन् तलबाट र हामी यो समग्र ढंगले यो परिस्थितिलाई हेर्छौं । यो समीक्षालाई हामीले क्रिटिकली नै हेर्छौं । हाम्रा पार्टी सञ्चालन गर्ने सन्दर्भमा सरकार सञ्चालन गर्ने सन्दर्भमा हामी कहाँ चुक्यौँ हाम्रो के कमजोरी थियो भन्ने कुरा हामी आफ्नै कमजोरी खोज्छौँ पहिलो कुरा । त्यसपछि अरू अरू कुराहरू खोज्छौ र यसलाई कसरी सुधार गर्ने र जनतामा फर्किने कुरामा हामी केन्द्रित भएर हामी फेरी जनतामा फर्किन्छाँै ।
पहिला एमालेमा त्यति धेरै विवादहरू हुँदैन थियो नेताहरू रिसाउँदा कि सिद्धिन्थे कि छोडेर जान्थे अहिले अली बढी सार्वजनिक भइरहेको छ है ?
यो राम्रो कुरा होइन, पार्टीमा जब निर्वाचनको परिणाम पछि हामीले जुन धक्का बेहोरेका छौँ यो धक्का बेहोरिसकेपछि संयमित भएर एकताबद्ध भएर यो परिस्थितिको सामना कसरी गर्ने भन्ने विषयमा छलफलहरू केन्द्रित हुनुपर्नेमा व्यक्तिगत ढंगले आलोचना आत्मआलोचना एउटा नेताले अर्को नेतालाई खुइल्याउने तहले गरिने कुराहरू किमार्थ राजनीतिक होइनन् । यस्ता कुराहरूले राजनीतिलाई ठिक बाटोमा पुर्याउँदैन । हामी कसरी अगाडि बढ्ने कसरी रिभाइभ हुने नेकपा एमालेलाई पुनर्जागृत कसरी गर्ने पुनर्गठित कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएर छलफल गर्नु पर्छ । त्यस अन्यथा गरिने छलफल कुनै औचित्य अर्थ छैन ।
अब संसदीय दलको निर्वाचनमा तपाईंले सुहाङ नेम्वाङलाई उम्मेदवार बन्नका लागि प्रस्तावक समर्थकै जुटाउन दिनुभएन भन्छन् तपाईं निर्वाचन समितिको संयोजक हुनुहुन्थ्यो ?
यो अत्यन्तै निराधार र गलत कुरा हो । सुहाङ नेम्वाङ स्वयंले यसका बारेमा प्रस्ट गरिसक्नु भा छ र पार्टीको बैठकमा यसका बारेमा एउटा सचिवालयको बैठक नै बसेर यस बारेमा स्पष्ट गरिसक्या छ । कुनै व्यक्तिलाई समर्थक प्रस्तावक बन्न दिने कुनैलाई नदिने भन्ने हुँदैन । नेकपा एमाले निकै लामो समयदेखि पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्दै आइरहेको पार्टी हो र यसका लोकतान्त्रिक अभ्यास गर्ने कुरामा खुला छ । संसदीय दलको नेता छनोट गर्ने सन्दर्भमा पनि पार्टी खुला छ । र तपार्इंलाई सम्झना नै छ । विगतमा पार्टीको प्रमुख जो हुन्छ प्रमुख नै संसदीय दलको नेता हुने अभ्यास थियो । त्यसलाई तोडेर झलनाथ खनाल पार्टीको अध्यक्ष भएको बेलामा केपी शर्मा ओली पार्टीको वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँले प्रतिस्पर्धा गरेर पार्टीको बहालवाला अध्यक्षलाई जिते संसदीय दलको नेता बन्नुभएको इतिहास छ । त्यसले गर्दा कसैलाई रोक्दैन । अहिले पनि कोही दलको नेता लड्नका लागि रोकेको थिएन । त्यहाँ विधिसम्मत ढंगले निर्वाचन समिति बनाएको थियो । निर्वाचन समितिले विधिसम्मत ढंगले आफ्नो प्रक्रियाहरू अगाडि बढाइएको थियो । त्यसमा एकल मात्रै उम्मेदवारी पर्यो । ‘फाराम’ त लिनुभयो सुहाङजीले तर पछि म दर्ता गर्दिनँ । उहाँलाई एकल मात्रै उम्मेदवारी परेको हुनाले निर्वाचित भएको घोषणा गरौँ जाऊँ भनेर उहाँले नै समझदारी गर्नुभयो । अनि एउटा मात्रै उम्मेदवारी परेको हुनाले हामीले निर्विरोध घोषणा गर्यौँ । तर बाहिर जे खालको प्रचार भयो, न्यारेटिभ बनाइयो । यो त अत्यन्तै गलत थियो । यसको खण्डन गर्ने सन्दर्भमा सुहाङले पनि खण्डन गर्नुभएको छ । पार्टीले सचिवालयको बैठक नै अर्को दिन बोलाएर यसका बारेमा समीक्षा गरेको छ । गम्भीर ढंगले यसमा कहीँ पनि केही त्रुटि भएको छैन ।
तर अहिले युवाहरूले नेकपा एमालेको यो वृद्धतन्त्र हट्नुपर्छ भनेर एक खालको फुल अभियान नै सुरु गरेका छन् । फेरि विशेष महाधिवेशनको चर्चा पनि सुरु भएको छ । के हो यो अलिकति प्रस्ट पार्नुस् है ?
युवाहरूले भूमिका पाउनुपर्छ पार्टीमा युवाहरूको राजकीय शासकीय तहमा भूमिका निश्चित गरिनु पर्छ भनेर लड्दै आको संघर्ष गर्दै आको कुरा उठाउँदै आको एकजना व्यक्ति म पनि हो । युवा आन्दोलनमा निकै लामो समय काम गरेको हामीले नै स्थापित गरेका मुद्दाहरू हुन् । विगतको तुलनामा पार्टीका संगठनका संरचनाहरू, राज्यका संरचनाहरू, युवामैत्री बन्दै गइरहेका पनि छन् । युवाहरू प्रतिस्पर्धाका माध्यमबाट राजनीतिमा आउने बाटाहरू खुलेका छन् । र युवाहरूले आजको सन्दर्भमा भन्ने हो भने प्रतिस्पर्धा गरेर अगाडि आउने सन्दर्भमा कुनै ढोका पनि बन्द छैन । कुनै बाटाहरू बन्द छैनन् । प्रतिस्पर्धाका सबै बाटाहरू सबै ढोकाहरू खुला छन् । त्यसका लागि हामी युवाहरूले आफुलाई तयार गर्नु पर्छ । विचारका हिसाबले दृष्टिकोणका हिसाबले एजेन्डाका हिसाबले पहल कदमीका हिसाबले हस्तक्षेप गरेर जाने हो त्यो बाटो रोज्नु पर्छ । तर राजनीति यस्तो चिज हो राजनीतिमा सत्ता भन्ने कुरा कसैले पनि किस्तीमा हालेर हस्तान्तरण गर्दैन । उमेर समूहका आधारमा किस्तीमा हालेर राजनीति सत्ता हस्तान्तरण भएको इतिहास छैन । हस्तक्षेप गरेरै लिने हो । त्यसका लागि आफूलाई मानसिक ढंगले तयार गर्नु पर्छ र स्टेपहरू चाल्नुपर्छ । यति वर्ष उमेर समूहलाई यो दियोस् भनेर नारा लाएर जुलुस लाएर धर्ना गरेर मसाल बालेर टायर बालेर पदहरू प्राप्त हुँदैनन् । पदहरूको आफ्नै प्रबन्ध हुन्छ पार्टी संगठन भित्र राज्य संयन्त्रभित्र ती प्राप्त गर्नका लागि योग्यता पुगेका व्यक्तिहरूले प्रतिस्पर्धा गरेर जाने बाटाहरू हामीले कानुनी ढंगले संवैधानिक ढंगले खुला गरेका छौँ । पार्टी भित्र पनि पार्टीका विधान र संरचनाहरूमा यी बाटाहरू हामीले खुला गरेको हुनाले यो प्रतिस्पर्धाका बाटा खुला छन् । त्यसका लागि आफूलाई तयार गर्नु पर्छ भन्न चाहन्छु म ।
त्यो कहिले तयार गर्ने एमालेले ? संसदीय दलको निर्वाचन पछाडी सामाजिक संजालमा विगतको नीरज आचार्य हामीलाई फिर्ता चाहियो अहिलेको होइन भन्ने खालका टिप्पणी त तपाईंले पनि पढ्नुभएको थियो है ?
(हाँस्दै) अवश्य पनि मैले पढेको छु । मेराप्रति पनि कार्यकर्ताहरूका समर्थकहरूका आलोचना छन् टिप्पणी छन् म सहर्ष ढंगले स्विकार्छु यसको कुनै प्रतिवाद गर्नुपर्ने जरुरी छैन । मैले जुन युवा आन्दोलनमा छदा जुन ढंगले कुनै एजेन्डामा प्रभावकारी ढंगले आफ्ना धारणाहरू राखे त्यसलाई मन पराउनुभयो त्यसलाई धन्यवाद दिनुभो, कुनै सन्दर्भमा मैले राखेका कुराहरू मन परेन त्यसको आलोचना गर्नुभो । म यसलाई स्वाभाविक ढंगले लिन्छु । कसैले प्रशंसा गर्यो यसमा फुर्किनुपर्ने जरुरी पनि छैन कसैले आलोचना गर्यो त्यसमा खुम्चिनुपर्ने, चित्त दुखाउनुपर्ने जरुरी पनि छैन । मैले यसलाई समालोचनात्मक ढंगले लिन्छु र मेरा पनि कमजोरी छन् काम गर्ने दौडानमा म त्यसलाई करेक्सन गरेर अगाडि बढ्नका लागि हमेसा तयार छु ।
अहिले संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भइसके पछाडि संसद्को पहिलो बैठकमा दिनुभएको जुन अभिव्यक्ति पार्टी लाइनविपरीत भयो है ?
त्यसको लगत्तै भोलिपल्ट पार्टीको सचिवालयको बैठक उहाँ स्वयंको अध्यक्षतामा बसेर कतिपय भाषाशैलीहरू संसदीय भाषा शैलीहरू भएन कतिपय पार्टीको लाइनअनुरूप पार्टीले अवलम्बन गरेको नीतिअनुरूप यी कुराहरू भएनन् । त्यहाँ अभिव्यक्त गर्ने सन्दर्भमा राज्यका अंगहरूलाई अरू–अरू सँगै एउटै डालोमा राखेर आरोपित गर्ने कुरा चाहिँ मिलेन भन्ने कुरा भयो । त्यसमा भोलिपल्ट त्यसको समीक्षा गरेर पार्टीको महासचिवले बैठकबाटै सात बुँदामा वक्तव्य पनि जारी गरिसक्नुभएको छ । त्यसकारण त्यो विषय त्यहीँ सकिएको छ ।
तर अब कतिपय मान्छेले र स्वयं बादलले पनि लिखित मन्तव्य पढेको हो जे लेखिदिए त्यही बोले मैले भन्नुहुन्छ के लेखेकोचाहिँ कसले रहेछ ?
त्यो चाहिँ थाहा भएन उहाँलाई नै सोध्नुपर्छ । कसले लेख्नुभयो कसरी तयारी गर्नुभयो । उहाँले नै यस बारेमा बताउनु उपयुक्त हुन्छ । मलाई यसबारेमा जानकारी भएन ।
तर अहिले नेकपा एमाले भित्र बादलको अभिव्यक्ति पछाडि विष्णु पौडेल, प्रदीप ज्ञवालीहरू, त्यसपछि गएर ईश्वर पोखरेलहरूका जुन प्रतिक्रिया छन् नि, यसले यसले पार्टी साँच्चिकै एक ठाउँमा ठिकैठिकै छ कि कांग्रेसको रोग त्यता सर्यो ?
पार्टीमा अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आजको परिस्थितिको विश्लेषण गर्ने सन्दर्भमा नेताहरूका फरक फरक बुझाइहरू, फरकफरक मत छन्, ती मतलाई एक ठाउँमा ल्याउनुपर्ने छ । र अब अध्यक्ष बाहिर आइसकेपछि अध्यक्षकै अध्यक्षतामा बैठक बसेर यसका बारेमा घनीभूत छलफल हुन्छ र एउटै धारणा बन्छ पहिलो कुरा । दोस्रोचाहिँ व्यक्तिले अभिव्यक्त गर्दै सन्दर्भमा कुन स्कुलिङ बाट आयो के बुझाइबाट आयो भन्ने कुराले महत्व राख्दो रहेछ । सबै एउटै फर्मेटमा त हुँदैन । नेकपा एमाले विभिन्न विचार समूहबाट आएका नेताहरू सामेल भएको पार्टी हो विभिन्न विचार समूहबाट आएका साथीहरू हुनुहुन्छ नेताहरू हुनुहुन्छ त्यसमा । त्यसो गर्दा को कुन स्कुलिङबाट आयो, त्यसको प्रभाव उसले प्रयोग गर्ने ‘जार्गन’हरूमा त्यसको प्रभाव हुदो रहेछ । त्योचाहिँ फरक सन्दर्भमा अभिव्यक्त हुँदा कहिलेकाहीँ नमिलेको जस्तो देखिने फरक देखिने यस्ता चिजहरू देखिन्छन् । यसलाई पनि हामीले स्वाभाविक ढंगले लिएका छौँ । तर पार्टीको मूल नीति र मूल स्पिडकै आधारमा अगाडि बढ्नुपर्छ ।
अब बादलले विष्णु पौडेललाई दक्षिणपन्थी भनेको सुन्नुपर्ने हैन एमालेजनहरूले अहिलेको अवस्थामा ?
योचाहिँ गलत कुरा हो । पूरै टेक्स्ट मैले पनि सुनेँ । त्यही अभिव्यक्त भएको छ । यो उहाँले कसलाई इंगित गर्न खोज्नुभएको हो, के हो ? पार्टीको बैठक बस्छ, बैठकमा छलफल हुन्छ, त्यसमा उहाँले स्पष्टीकरण दिनुहुन्छ । त्यसकारण अहिले उहाँले पार्टी बैठकमा स्पष्टीकरण नदिईकन यसका बारेमा मैले थप टिप्पणीचाहिँ गर्दिनँ । जुन अभिव्यक्ति आयो त्यो विधिसम्मत र सही छैन ।
बादलको अभिव्यक्ति सुन्दा त संसदीय दलको नेता उहाँले धान्न सक्नुहोला जस्तो लाग्छ तपाईंहरूलाई ?
अहिले नै यो विषयमा निष्कर्ष निकालिहाल्ने बेला भएको छैन । पार्टीको उपाध्यक्ष हो निर्वाचित भएर आएको उपाध्यक्ष हो । लामो समय नेपालको कम्युनिस्ट आन्दोलनमा काम गर्दै आएको सिनियर नेता हो । उहाँको बारेमा मैले यति हल्का ढंगले प्रतिक्रिया दिनु टिप्पणी गर्नु सान्दर्भिक हुँदैन अहिले नै ।
एमालेको विशेष महाधिवेशन कहिले ?
एमाले विशेष महाधिवेशन गर्दैन । जे विषयहरू जे मुद्दाहरू उठेका छन् यी मुद्दाका बारेमा पहिलो पहिलो कुरा त पार्टीको सचिवालयले यसको निकास दिनुपर्छ निष्कर्ष दिनुपर्छ । पार्टी सचिवालयले यसको निष्कर्ष दिन सकेन पार्टीको केन्द्रीय कमिटीमा यसको छलफल हुन्छ । केन्द्रीय कमिटीले यसको निकास दिन्छ, निष्कर्ष दिन्छ । यहीँबाट निष्कर्ष खोज्नुपर्छ । नेकपा एमालेले महाधिवेशन मंसिरको २७ देखि पुसको २ गते मात्रै सम्पन्न गरेको छ । आज भन्दा हामीले चार–पाँच दिनअगाडि मात्रै निर्वाचन आयोगमा पार्टी महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय संसद् समितिको विवरण अध्यावधिक गर्ने काम सकेका छौँ । त्यसले गर्दा महाधिवेशन सकेर फेरि अर्को महाधिवेशन आयोजना हुँदैन । विशेष महाधिवेशनको माग औपचारिक ढंगले आएको पनि छैन । हस्ताक्षरको कुराहरू आएको छ ।
अब त्यही विशेष महाधिवेशनको माग गर्नेवालाहरूलाई हामी दबाइदिन्छौँ भनेर भन्नुभएको छ नेताहरूले त ?
कसैले दबाएर दबिने कुरा होइन त्यो अभिव्यक्तिलाई खारिज गर्नुपर्छ अत्यन्तै लोकतान्त्रिक अभिव्यक्ति हो । हाम्रो पार्टी पार्टीको विधान र संगठनको संरचनाले त्यस्तो कुरालाई अनुमति दिँदैन । नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक ढंगले यस पार्टीमा हुने सहमति विमतिका सबै कुराहरू छलफल हुन्छन् । छलफलबाट यी सबै कुराहरूको निकास निक्लन्छ ।










Facebook Comments