काठमाडौं । जेनजी विद्रोहका कारण करिब २ वर्षअगावै गत फागुन २१ गते भएको निर्वाचनमा अनपेक्षित र आश्चर्यजनक रूपमा झन्डै दुईतिहाइ सिट जितेर एकल सरकार गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेलाई उपेक्षा गर्दै पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेनद्र शाहले एकलौटी निर्णय गरिरहेको पार्टीको एक प्रभावशाली नेताले देशान्तरलाई बताएका छन् । यसको पछिल्लो उदाहरणको रूपमा सभापति लामिछाने उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहमति गरिसकेपछि वालेनले उल्टाएर श्रमशक्ति पार्टीलाई दिएबाट पुष्टि हुन्छ । त्यसैगरी, मन्त्रीहरू चयनमा पनि उनकै हालीमुहाली चलेको रास्वपा स्रोतले बताएको छ । यसरी पार्टी सभापति रवि लामिछाने भए पनि चुनावको परिणाम आफ्नै कारण आएको दाबी गर्दै उनले रास्वपामा आफ्नो दबदबा बढाएपछि संस्थापक नेताहरू दिनप्रतिदिन निराश बन्दै गइरहेको रविनिकट एक नेताले देशान्तरलाई बताए । 

चुनाव अघि सातबुँदे सहमति गरेर वालेनलाई रास्वपामा भित्र्याएका रविले पार्टी तथा सरकारका निर्णयहरूमा वालेन निरन्तर हाबी भइरहेको निष्कर्षमा पुग्दै आगामी रणनीति तय गर्न आफू पक्षका नेताहरूसँग छलफल गर्न समेत सुरु गरिसकेको रास्वपानिकट एक उच्च स्रोतले जानकारी दिएको छ । मन्त्री चयनमै हाबी भएका वालेन उपसभामुख चयन प्रक्रियाले त रास्वपाभित्रको आन्तरिक शक्ति संघर्ष र मतभेद सार्वजनिक रूपमै उजागर गरेको विश्लेषण भइरहेको छ । सभापतिको हैसियतले हरेक निर्णय गर्ने अधिकार सभापति लामिछानेको भए पनि उनी निर्णायक भूमिकामा हाबी हुन सकेका छैनन् ।  

ad

उपसभामुखको निर्वाचन र श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गर्ने विषयमा पुनः एकपटक उनीहरूबीच तीव्र टकरावको स्थिति देखाप¥यो । बिहीबार दिउँसो २ बजेसम्म उपसभामुखको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको हुँदा त्यस अगाडि नै रास्वपा सभापति लामिछानेले राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेरै उपसभामुखमा समर्थन गर्ने जानकारी दिएपछि राप्रपाले उपसभामुख उम्मेदवारी दर्ता गरायो । तर प्रधानमन्त्री वालेनले तत्कालै श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन जनाउनुपर्ने दबाब बढाएसँगै रास्वपा उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गर्ने पक्षमा देखियो । 

प्रधानमन्त्री वालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई समर्थन गर्न दबाब दिएलगत्तै रास्वपा अनुशासन समितिले श्रममन्त्रीलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई पत्राचार गरेको थियो । मन्त्री साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको पार्टीको केन्द्रीय अनुशासन आयोगको ठहर गरेपछि आयोगको सिफारिसमा रास्वपाले प्रधानमन्त्री वालेनद्र (वालेन) शाहसमक्ष मन्त्री पदबाट हटाउन सिफारिस गरेको थियो । पार्टीको सिफारिसलगत्तै प्रधानमन्त्री शाहले बिहीबार मन्त्री साहलाई पदमुक्त गरेका थिए । तत्कालीन श्रममन्त्री साह प्रधानमन्त्री वालेनका फुपूका छोरा भएको बताइन्छ । साहलाई हटाउँदा उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने वालेनको अडान थियो । अन्ततः वालेन पक्ष हाबी हुँदा पार्टीको औपचारिक निर्णय श्रम संस्कृतिको पक्षमा गएको बुझिएको छ । यस घटनाले रास्वपाभित्रको आन्तरिक एकता, नेतृत्वको समन्वय र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उब्जाएको छ । 

त्यसो त रवि र वालेनबीच सरकार गठनकै क्रममा गृहमन्त्रीको नियुक्तिदेखि अन्य मन्त्रीको चयनमा समेत मत बाझिएको थियो । मन्त्री चयनका बेला सभापति लामिछानेले शक्ति सन्तुलन मिलाउनकै लागि पार्टी उपाध्यक्ष डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाउन निकै प्रयास गरे पनि वालेनको अडानले पछाडि हट्न बाध्य हुनुप¥यो । अन्ततः वालेनले सुधन गुरुङलाई  गृहमन्त्री बनाए । रवि र वालेनबीच अन्य कतिपय सैद्धातिक विषयमा समेत मतभेद देखिएको छ । रविले सर्वसाधारणका लागि सिंहदरबार खुला गर्ने वाचा गरे पनि वालेन नेतृत्वको सरकारले प्रवेशमा थप कडाइ गरेको छ । सिंहदरबारमा कानुन व्यवसायीहरूलाई प्रवेशमा सरकारले कडाइ गरेको विषयमा पनि रवि र वालेनबीच मत बाझिएको रास्वपा निकट स्रोतले जनाएको छ । 

मन्त्रिपरिषदमा रहेका सदस्यहरूको वरीयताक्रमा पनि पार्टीमा तीव्र असन्तुष्टि देखिएपछि प्रधानमन्त्री वालेनले चैत २४ गते मर्यादाक्रम हेरफेर गरेका थिए ।