
काठमाडौं ।नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनाबारे तयार गरिएकोगौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ। पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले उक्त प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको निष्कर्ष निकाल्दै पुनः शक्तिशाली छानबिनको माग गरेको हो।
बैठकले बहालवाला न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र र प्रभावकारी छानबिन आयोग गठन गरी घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। यसअघिनेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पनि कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्दै नयाँ छानबिन आयोग गठनको माग गर्दै आएको छ।
यसैबीच, नेकपा संयुक्तले २०४८ सालयता विभिन्न सार्वजनिक पदमा रहेका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्तित्व तथा न्यायपालिकासम्बद्ध पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग समेत अघि सारेको छ। सार्वजनिक पदको दुरुपयोग र अवैध सम्पत्तिको विषयमा कडा कदम चाल्नुपर्ने पार्टीको धारणा छ।
बैठकले लोकतान्त्रिक प्रक्रिया तथा संस्थाहरूलाई नियन्त्रण र सङ्कुचन गर्ने प्रवृत्ति रोक्न पनि सरकारलाई आग्रह गरेको छ। साथै, विभिन्न असमान सन्धि–सम्झौताहरू खारेज गर्नुपर्ने लगायतका विषय समेटिएको ११ बुँदे प्रस्ताव पारित गरिएको जनाएको छ।
पार्टीले हालको राजनीतिक परिस्थितिमा पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न थप सशक्त पहल आवश्यक रहेको उल्लेख गरेको छ।










Facebook Comments