
काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्डले जनताको संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्ने कुनै पनि प्रयास भए त्यसको सशक्त प्रतिवाद गरिने बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।
शनिबार आयोजितअखिल नेपाल महिला संघ (क्रान्तिकारी)सम्पर्क समन्वय प्रदेशको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारका सकारात्मक कामलाई समर्थन गरिने तर जनअधिकार कुण्ठित गर्न खोजिए कडा प्रतिवादमा उत्रिने स्पष्ट पारे।
उनले संविधानमाथि कुनै किसिमको छेडखानी, राष्ट्रिय हितमा आघात वा जनताले प्राप्त गरेका अधिकार खोस्ने गतिविधि भए त्यसविरुद्ध सदनभित्र र सडक दुवैबाट आवाज उठाइने बताए। “संविधान र जनअधिकारमाथि आक्रमण भए हामी चुप लागेर बस्दैनौं,” उनले भने।
प्रचण्डले पछिल्लो समय विद्यार्थी अधिकार तथा कर्मचारी ट्रेड युनियनसम्बन्धी विषयमा समेत प्रश्न उठ्न थालेको उल्लेख गर्दै त्यसप्रति सतर्क रहनुपर्ने धारणा राखे। उनले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
संविधान संशोधनको बहसप्रति धारणा राख्दै उनले संशोधनको विपक्षमा आफूहरू नरहेको स्पष्ट पारे। तर, संशोधन जनताको अधिकार विस्तार गर्ने, महिलाको अधिकार सुदृढ बनाउने र संघीयतालाई थप बलियो बनाउने दिशामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
“अधिकार घटाउने होइन, थप्ने खालको संशोधन भएमा हाम्रो सकारात्मक भूमिका रहनेछ,” उनले जोड दिए।










Facebook Comments