
काठमाडौं । हर्क साम्पाङ राई ले एमसीसी खारेज गर्नुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका उनले राष्ट्रहित र स्वाधीनताका सवालमा आफूहरू स्पष्ट र अडिग रहेको बताएका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले आफूहरूलाई 'जिम्मेवार देशभक्त प्रतिपक्ष'को रूपमा प्रस्तुत गरेका छन्। उनले उपसभामुखजस्तो पद कुनै दल विशेषको नभई राज्यको भएको उल्लेख गर्दै त्यसलाई दलगत स्वार्थसँग जोड्न नहुने बताएका छन्।
उनका अनुसार राज्यका महत्वपूर्ण पदहरू राष्ट्रिय हित र संवैधानिक मर्यादाभित्र रहेर सञ्चालन हुनुपर्ने हुन्छ। यस्तो अवस्थामा उपसभामुख पदलाई दलगत प्रभावबाट मुक्त राख्नुपर्नेमा उनले जोड दिएका छन्।
साम्पाङले राष्ट्रभक्ति र स्वाधीनता आफ्ना प्रमुख एजेण्डा भएको दोहोर्याउँदै अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने धारणा पुनः अघि सारेका छन्। उनले एमसीसीलाई लिएर उठ्दै आएका बहसबीच आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पारे।
‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन,’ उनले लेखेका छन्, ‘हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु, एमसीसी खारेज गर्नैपर्छ।’
उनको यस अभिव्यक्तिले फेरि एकपटक एमसीसीबारे राजनीतिक बहस चर्किने संकेत देखिएको छ।










Facebook Comments