
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक मुक्तिनाथ सापकोटा र हेमप्रसाद न्यौपाने कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।
केन्द्रीय बैंकले कार्यकारी निर्देशकमा दुई निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर गरेको छ । कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनी गभर्नरको कार्यालयबाट मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक सापकोटालाई भने गभर्नरको कार्यालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्का नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेले बैंकिङ विभागको जिम्मेवारी पाएका छन् ।
बैंक विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेललाई विदेशी विनिमय विभागमा सरुवा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
विदेशी विनिमय विभागमा कार्यरत कार्यकारी निर्देशक किरण पण्डित डेपुटी गभर्नर नियुक्त र कार्यकारी निर्देशकबाट रोशन सिग्देलले अवकाश पाएपछि दुई पद खाली थियो । सोही पदमा केन्द्रीय बैंकले बिहीबार निर्देशकहरू सापकोटा र न्यौपानेलाई बढुवा गर्दै पदपूर्ति गरेको हो ।









Facebook Comments