
काठमाडौँ । उपसभामुख चयन प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक शक्ति संघर्ष र मतभेद सार्वजनिक रूपमा उजागर गरेको छ। उम्मेदवारी दर्ताको दिनमै देखिएको निर्णयको उतारचढावले पार्टीभित्र नेतृत्व तहमा फरक–फरक धार सक्रिय रहेको संकेत दिएको हो।
प्रतिनिधिसभामा निर्णायक प्रभाव राख्ने अवस्थामा रहेको रास्वपाले सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने संकेत दिएको थियो। तर केही समयमै निर्णय उल्ट्याउँदै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई औपचारिक समर्थन जनाएपछि राजनीतिक वृत्तमा चासो बढेको छ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भने रास्वपा सभापति रवि लामिछानेको प्रत्यक्ष आश्वासनपछि मात्रै आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको दाबी गरेका छन्। उनका अनुसार लामिछानेले फोनमार्फत समर्थनको वचन दिएपछि सरस्वती लामालाई उम्मेदवार बनाइएको थियो।
तर अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेपछि समीकरण फेरिएको हो। उक्त निर्णयमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरू सक्रिय देखिएका थिए।
पार्टी स्रोतका अनुसार रास्वपाभित्र राप्रपालाई समर्थन गर्ने र श्रम संस्कृतिलाई समर्थन गर्ने गरी दुई धार देखिएका थिए। सभापति लामिछाने राप्रपासँग सहकार्य गर्ने पक्षमा रहे पनि प्रधानमन्त्री बालेन्द्र शाह, बुर्लाकोटीसहितका नेताहरू श्रम संस्कृतिको पक्षमा उभिएका थिए।
अन्ततः प्रधानमन्त्री शाह पक्ष हाबी हुँदा पार्टीको औपचारिक निर्णय श्रम संस्कृतिको पक्षमा गएको बुझिएको छ। यस घटनाले रास्वपाभित्र निर्णय प्रक्रियामा कसको प्रभाव बलियो छ भन्ने प्रश्नसमेत उठाएको छ।
उता शाहीले भने राजनीतिमा यस्ता परिवर्तन स्वाभाविक हुने प्रतिक्रिया दिएका छन्। उनले आफूहरूले पाएको आश्वासनका आधारमा उम्मेदवारी दिएको दोहोर्याउँदै आगामी दिनमा परिस्थिति अनुसार प्रतिक्रिया दिने संकेत गरेका छन्।
यस घटनाले रास्वपाभित्रको आन्तरिक एकता, नेतृत्वको समन्वय र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।









Facebook Comments