काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाविरुद्ध अनुसन्धानका क्रममा पक्राउ अनुमति मागेको पत्र सार्वजनिक भएको छ। विभागले चैत २३ गते नै काठमाडौँ जिल्ला अदालतसमक्ष उक्त अनुमति मागेको खुलेको हो।

विभागका अनुसन्धान अधिकृत ध्रुवराज शर्माको हस्ताक्षर रहेको पत्रमा देउवा दम्पत्तिलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि नियन्त्रणमा लिन आवश्यक रहेको उल्लेख गरिएको छ।

ad

पत्रअनुसार डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिकाको बुढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका देउवा र उनकी पत्नीलाई अनुसन्धानका सिलसिलामा पक्राउ गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

विभागले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का सम्बन्धित प्रावधानहरू उल्लेख गर्दै कानुनी प्रक्रिया अनुसार पक्राउ अनुमति प्रदान गर्न अदालतसँग अनुरोध गरेको जनाएको छ।

उक्त पत्र सार्वजनिक भएसँगै यस विषयले राजनीतिक तथा कानुनी वृत्तमा चर्चा पाएको छ।