काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चार क्षेत्रसँगको सहकार्यले देशको आर्थिक सुधार र नीतिगत बहसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

महासंघद्वारा आयोजित पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्य राष्ट्रको आर्थिक विकासका लागि अपरिहार्य रहेको उल्लेख गरे। उनले पत्रकारहरूसँगको संवादलाई केवल औपचारिकता नभई साझा दृष्टिकोण निर्माण गर्ने अवसरका रूपमा लिएको बताए।

ad

अध्यक्ष ढकालले आफ्नो कार्यकाल सुरु हुँदा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गर्दै कोभिड–१९ को प्रभाव, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलले अर्थतन्त्र कमजोर बनेको बताए। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण तयार पार्ने प्राथमिकताका साथ काम अघि बढाइएको उनले बताए।

उनका अनुसार महासंघले पाँच प्रमुख प्राथमिकता निर्धारण गरी काम गरेको थियो, जसमा आर्थिक संकट समाधान, लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा व्यवसायीको मनोबल अभिवृद्धि समावेश छन्। तीन वर्षको अवधिमा यी क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी उनले गरे।

ढकालले महासंघले परम्परागत मागकर्ताको भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएको उल्लेख गरे। राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुनी सुधारका सिफारिस गरिएको जानकारी दिए।

निजी क्षेत्रका उद्योग तथा व्यवसायलाई ‘शान्ति क्षेत्र’ घोषणा गरिएको र नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरेको उल्लेख गर्दै उनले यसले लगानी र व्यवसायको सुरक्षा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, महासंघको पहलमा द्विपक्षीय लगानी सम्झौता (बीआईए) को मस्यौदा तयार भई विभिन्न देशसँग सम्झौताका लागि प्रक्रिया अघि बढाइएको उनले बताए। भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार र बेलायतलगायत देशहरूसँग लगानी सम्मेलन र संवादमार्फत वैदेशिक लगानी भित्र्याउने प्रयास गरिएको जानकारी दिए।

अध्यक्ष ढकालले राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गर्न सफल भएको दाबी गरे। साथै, नेपाल विद्युत प्राधिकरण सँगको डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन महसुल विवाद समाधानका लागि मध्यस्थता गरिएको पनि उनले बताए।

संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी र समावेशी बनाइएको, अध्यक्षको प्रत्यक्ष निर्वाचन व्यवस्था लागू गरिएको र महिला सहभागिता बढाइएको जानकारी उनले दिए।

कार्यक्रममा अध्यक्ष ढकालले सञ्चार क्षेत्रको भूमिकाको उच्च प्रशंसा गर्दै आर्थिक पत्रकारिताले तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र सुझावमार्फत नीतिगत सुधारलाई मार्गदर्शन गरेको बताए। पत्रकारिता समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति भएको उल्लेख गर्दै उनले महासंघ र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

अन्त्यमा उनले आफ्नो तीनवर्षे कार्यकाल सफल बनाउन सञ्चारकर्मीहरूले दिएको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।