काठमाडौं । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ । 

सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७  प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।

ad

इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ । विभागका अनुसार कुल १३ सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो ।

अहिले एक प्रदेशबाट एक वा त्यसभन्दा बढी प्रदेशमा जाने यात्रुवाहक र मालवाहक सवारीसाधनका हकमा मात्र भाडा बढेको हो । छोटो दुरी अर्थात् एक सहरभित्र र प्रदेशभित्रका हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने गर्छ ।