काठमाडौं । अमेरिका र इरानबीच भएको दुई साता लामो युद्धविराम घोषणालाई नेपाल सरकारले स्वागत गरेको छ । सरकारले यसलाई पश्चिम एशियामा बढ्दो तनाव न्यूनीकरणतर्फको सकारात्मक र रचनात्मक कदमका रूपमा व्याख्या गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा युद्धविरामले संवाद, कूटनीति तथा मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । नेपालले सधैंजसो विवादको शान्तिपूर्ण समाधानको पक्षमा रहेको आफ्नो अडान पुनः दोहोर्‍याएको छ ।

ad

सरकारले जारी द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र कल्याण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । 

नेपालले क्षेत्रीय तथा विश्व शान्ति प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायले गरिरहेका सबै प्रयासप्रति समर्थन जनाउँदै दीर्घकालीन शान्ति र स्थायित्व स्थापना हुने अपेक्षा व्यक्त गरेको छ ।