काठमाडौं । गृह मन्त्रालयले युगाण्डाका २० जना महिलालाई निष्कासन गर्ने निर्णय गरेको छ। ठमेल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई गृहले एक वर्षका लागि नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको हो।

गृह मन्त्रालयको निर्णयसँगै अध्यागमन विभागले ती महिलाहरूलाई निष्कासन गर्न थालेको छ। अध्यागमनका एक अधिकारीले भने, 'टिकट लिएर आएका केही गइसके। केहीलाई टिकट लिएर आएपछि निष्कासन गर्छौं।'

ad

ठमेलका विभिन्न सार्वजनिक स्थानमा विदेशी तथा स्वदेशी पर्यटकहरूलाई दुःख दिने, अश्लील हर्कत देखाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। 

सार्वजनिक स्थलमै पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्ने र अवैध यौन धन्दा सञ्चालन गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई ठमेलस्थित फायरचोक आसपासबाट पक्राउ गरेको थियो।

सम्झाइ-बुझाइ गर्न खोज्दा ती महिलाहरूले उल्टै प्रहरीमाथि अपशब्द प्रयोग गरेपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही ७०० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कानुनी प्रक्रिया पूरा गरी निष्कासनका लागि अध्यागमन कार्यालय कालिकास्थान पठाइएको थियो।