काठमाडाैं । सञ्चारकर्मी जीपी तिमिल्सिना पक्राउ परेका छन् । चैत २३ गते सोमबार भक्तपुर प्रहरीको महिला सेलबाट तिमल्सिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जानकारी अनुसार पक्राउ पूर्जी जारी भएपछि सञ्चारकर्मी तिमल्सिना मोबाइलको स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए । तर प्रहरी–महिला सेलले मंगलबार उनलाई पक्राउ गरेको हो ।

ad

तिमल्सिनाविरुद्ध उनकी पूर्वपत्नी मिस नेपाल २००० उषा खड्गीले भक्तपुर प्रहरीमा अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयाससहितका आरोपसहित सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा महिला सेलले पक्राउ पूर्जी जारी गरेर उनलाई पक्राउ गरेको हो ।

तिमल्सिनाको पक्राउको खबर आएपछि अहिले पूर्व पत्नी मिस नेपाल २००० उषा खड्गी भक्तपुर महिला सेलमा मुद्दा दर्ता गराउन पुगेकी छिन् ।

भक्तपुरका डिएसपी प्रकाश जबेगुका अनुसार जीपीविरुद्ध अभद्र व्यवहार गरेको कसुरमा जाहेरी परेको हो । उनका अनुसार मिस नेपाल २००० तथा तथा अभिनेत्री उषा खड्गीले सोमवार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

उषा र जीपीबीच २०७९ सालमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद भएपछि पनि उनीहरु एउटै घरको फरक–फरक तल्लामा बसोबास गर्दै आइरहेका छन् ।