काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पद सम्हालेपछि प्रतिनिधि सभाका सांसदहरूसँग प्रदेशगत रूपमा छलफललाई तीव्रता दिएका छन्। जनप्रतिनिधिहरूबाट प्रत्यक्ष रूपमा क्षेत्रगत समस्या बुझ्ने उद्देश्यले सुरु गरिएको यो पहललाई सकारात्मक रूपमा हेरिएको छ।

यस क्रममा सुदूरपश्चिम, कोशी, मधेश र गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशका सांसदहरूसँग बैठक गरे। तर, उक्त बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने अनुपस्थित रहे।

ad

लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट निर्वाचित अधिकांश सांसदहरू सहभागी भए पनि रुकुमपूर्वबाट निर्वाचित दाहाल बैठकमा नदेखिएका हुन्। उनी नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीसमेत हुन्।

बैठकमा सहभागी एक स्रोतका अनुसार प्रधानमन्त्रीले सांसदहरूबाट आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या, प्राथमिकता र समाधानका उपायबारे प्रत्यक्ष सुझाव लिएका थिए। बैठक बिहान ११ बजे सुरु भई करिब १२:५० बजेसम्म चलेको थियो।

यसैबीच, प्रतिनिधि सभाको बैठक समय नजिकिँदै जाँदा प्रधानमन्त्री शाहले आफ्नो धारणा राखिसकेका सांसदहरूलाई संसदतर्फ जान आग्रह गरेका थिए भने बाँकी सांसदहरूसँग छलफल जारी राखिएको थियो।

प्रधानमन्त्रीले स्थानीय तहदेखि प्रदेशसम्म देखिएका समस्याको पहिचान गरी तत्काल समाधान गर्न सकिने विषयहरूमा विशेष चासो दिएको सहभागी सांसदहरूले बताएका छन्।

प्रचण्डको अनुपस्थितिबारे औपचारिक कारण खुलाइएको छैन। यसले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी जन्माएको छ भने प्रधानमन्त्रीको पहलमा सबै शीर्ष नेताको सहभागिता आवश्यक रहेको चर्चा पनि सुरु भएको छ।