
काठमाडौँ । नेकपा नेतावर्षमान पुनले वैदेशिक ऋणबारे वर्तमान सरकारको निर्णयप्रति तीखा टिप्पणी गरेका छन्। उनले आफूहरूलाई अघिल्लो सरकारहरूले ऋण लिएर देश डुबाएको आरोप लगाउँदै आएका शक्तिहरू नै सत्तामा पुगेपछि उही अभ्यास दोहोर्याएको आरोप लगाए।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैकल्पिक राजनीति गर्ने दाबीसहित उदाएका नेताहरूले व्यवहारमा भने आफ्नै प्रतिबद्धता तोडेको बताए।बालेन शाहनेतृत्वको सरकारप्रति संकेत गर्दै पुनले सत्तामा पुग्नासाथ ठूलो परिमाणमा ऋण लिने निर्णय भएको उल्लेख गरे।
“हामी ऋण लिँदैनौँ भनेर राजनीति सुरु गर्नेहरू सत्तामा पुगेपछि एकै दिनमा अर्बौँ ऋण लिन्छन् भने जनताले कसरी पत्याउने?” उनले प्रश्न गरे।
पुनले आवश्यकता अनुसार ऋण लिन सकिने भए पनि त्यसको प्रयोग स्पष्ट प्राथमिकतामा आधारित हुनुपर्ने बताए। उनका अनुसार पूर्वाधार विकास, रोजगारी सिर्जना जस्ता क्षेत्रमा लगानी गर्न ऋण उपयोगी हुन सक्छ, तर अनुत्पादक खर्चका लागि ऋण लिनु उपयुक्त नहुने उनको धारणा छ।
उनले ऋणसम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने र संसद्लाई जानकारी दिँदै जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “ऋण लिनै परे पनि जनतालाई विश्वास दिलाउने गरी स्पष्ट योजना र प्रतिबद्धता आवश्यक हुन्छ,” उनले भने।
पुनको यो अभिव्यक्तिले सरकारको आर्थिक नीति र सार्वजनिक प्रतिबद्धताबीचको अन्तरबारे नयाँ बहस जन्माएको छ।









Facebook Comments