
काठमाडौँ । सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको समस्या देखाउँदै सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि यसको पक्ष–विपक्षमा बहस तीव्र बनेको छ। मन्त्रिपरिषद्को आइतबारको निर्णयपछि संसददेखि सामाजिक सञ्जालसम्म यो विषय चर्चामा आएको हो।
राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन्। उनले अन्तर्राष्ट्रिय द्वन्द्वलाई कारण देखाएर मुलुकभित्र सरकारी तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिनु उचित नभएको तर्क गरे।
सरकारले भने विश्व बजारमा उत्पन्न अवस्थालाई मध्यनजर गर्दै यस्तो कदम चालेको जनाएको छ। होर्मुज जलडमरू क्षेत्रमा बढ्दो तनावका कारण पेट्रोलियम आपूर्तिमा समस्या देखिएको छ, जसको प्रत्यक्ष असर नेपालमा परेको छ। इन्धन अभाव र मूल्यवृद्धिको दबाबबीच सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्दै बिदा कार्यान्वयन गरिएको बताएका छन्। तर यो व्यवस्था अस्थायी हो वा दीर्घकालीन भन्ने विषय अझै स्पष्ट छैन।
यता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले भने सरकारको निर्णयलाई 'वैज्ञानिक र समयसापेक्ष' भन्दै स्थायी रूपमा लागू गर्न सुझाव दिएका छन्। उनका अनुसार कार्यसमय व्यवस्थापन र बिदा प्रणाली सुधारले दीर्घकालीन रूपमा लाभ पुर्याउन सक्छ।
यस विषयमा नेपालमा पहिले पनि अध्ययन भएका छन्। २०७७ सालमा गठन गरिएको समितिले दुई दिन बिदा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो। अध्ययनअनुसार यस्तो व्यवस्थाले कर्मचारीको उत्पादकत्व बढाउने, कार्यालय सञ्चालन खर्च घटाउने र इन्धन खपत कम गर्ने देखिएको छ।
प्रतिवेदनले करिब १६–२० प्रतिशतसम्म सञ्चालन खर्च घट्न सक्ने र वार्षिक अर्बौँ रुपैयाँ बचत हुने अनुमान गरेको छ। साथै, काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न मद्दत पुग्ने, पारिवारिक सम्बन्ध मजबुत हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गरिएको छ।
अध्ययनअनुसार दुई दिन बिदा हुँदा लाखौँ कर्मचारीले अतिरिक्त फुर्सद पाउनेछन्, जसले पर्यटन र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्छ। यातायात र इन्धनको प्रयोग घट्दा वातावरणीय लाभ पनि हुने देखिएको छ।
साथै, बदलिँदो पारिवारिक संरचना र व्यस्त जीवनशैलीका कारण काम–जीवन सन्तुलन आवश्यक बन्दै गएकाले दुई दिने बिदा उपयोगी हुने तर्क अध्ययनमा गरिएको छ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा अधिकांश देशले हप्तामा दुई दिन बिदा दिने व्यवस्था अपनाएका छन्। अध्ययन गरिएका १२७ देशमध्ये ११६ देशमा दुई दिन बिदा रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन ले पनि हप्तामा ४० घण्टाको कार्यसमयलाई मानकका रूपमा राखेको छ।
सरकारको निर्णय तत्कालीन संकट व्यवस्थापनसँग जोडिएको भए पनि यसले दीर्घकालीन नीतिगत बहसलाई पुनः जीवित बनाएको छ। एकातिर इन्धन बचत र सेवा व्यवस्थापनको प्रश्न छ भने अर्कोतिर कार्यक्षमता र सेवा प्रवाहमा असर पर्ने चिन्ता पनि उत्तिकै देखिएको छ।










Facebook Comments