काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहितराष्ट्रिय सतर्कता केन्द्रले राजधानी बाहिरका जिल्लाहरूमा अनुगमन टोली खटाएको छ। सोमबारदेखि लागू भएको नयाँ कार्यालय समयको पालना भए/नभएको जाँच गर्न केन्द्रले सक्रियता बढाएको हो।

केन्द्रका प्रवक्तानारायणप्रसाद भट्टका अनुसार उपत्यकाबाहिर नौ जिल्लामा टोली परिचालन गरिएको छ। ती टोलीले सरकारी कार्यालयहरूमा सेवा प्रवाहको अवस्था, कर्मचारीको उपस्थितिलगायत विषयमा छड्के अनुगमन सुरु गरिसकेका छन्।

ad

उनका अनुसार सेवा प्रवाहसँग सम्बन्धित गुनासाहरू बढ्दै गएकाले तिनको छिटो सम्बोधन गर्न केन्द्रले निगरानीलाई तीव्र बनाएको हो। “सेवाग्राहीका काम समयमा भइरहेको छ कि छैन, कर्मचारी तोकिएको कार्यकक्षमा छन् कि छैनन् भन्ने विषयमा प्रत्यक्ष अनुगमन भइरहेको छ,” उनले बताए।

नेपाल सरकारले हालै लागू गरेको निर्णयअनुसार कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। सो समयको पालना प्रभावकारी बनाउन केन्द्रले ‘फाइल ट्र्याकिङ’ प्रणालीमार्फत ढिलासुस्तीको अवस्थासमेत निगरानी गरिरहेको जनाएको छ।

अनुगमनका क्रममा कुनै अनियमितता वा भ्रष्टाचारजन्य गतिविधि फेला परे तत्काल सुधारका लागि निर्देशन दिने र गम्भीर प्रकृतिका मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने केन्द्रले स्पष्ट पारेको छ।

केन्द्रका अनुसार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई सहज बनाउने सरकारी लक्ष्यअनुसार आफ्ना स्रोत–साधन पूर्ण रूपमा परिचालन गरिएको छ। उपत्यकाभित्र पनि दैनिक रूपमा अनुगमन जारी राखिएको र आवश्यक परे फिल्डबाटै कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ।