काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले  १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्ण अनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न पार्टीका नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।


उनले सामाजिक सञ्जाल फेसबुकमा आज विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न आग्रह गर्दै लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र जिम्मेवार प्रतिपक्ष भई लोकतन्त्रको मार्गमा नयाँ पुस्तालाई हिँडाउन आवश्यक भएको बताए । उनले नेपाली कांग्रेस थप बलियो, थप जिम्मेवार र एकजुट हुनुपर्ने अझ आवश्यक भएको पनि बताए । 

ad


समयले सर्वोच्च अदालतको व्याख्या र आदेश जे–जस्तो आए पनि सबैलाई मान्य हुने बताउँदै उनले ‘त्यसको प्रतीक्षामा बसेर निर्वाचनको कारण र पृष्ठभुमि खोतलेर अथवा विशेष अधिवेशन हुँदा र नहुँदाको अवस्थाको सम्भावित परिणामबारे काल्पनिक व्याख्याजस्ता विषयहरूमा अल्मलिएर समय खेर नफालौं’ भने । 

पार्टीको संगठन भित्रका आन्तरिक कमजोरीसँगै मतदाताको परिवर्तनको उर्लदो चाहनाको अनियन्त्रित सुनामीसमेतका कारण निर्वाचन परिणाम अपेक्षाअनुरुप हुन नसकेन र निर्वाचन परिणाम ऐतिहासिक रूपमा नै कमजोर रहेको बडुको भनाई छ । ‘यो तितो सत्य हो । वर्तमान अवस्थामा यस यथार्थलाई स्वीकार गर्दै पार्टी सभापतिले सार्वजनिक रुपमै परिणामको नैतिक जिम्मेवारीसमेत स्वीकार गरिसकेको अवस्था पनि छ,’ विज्ञप्तिमा उल्लेख  ।