
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डिपी अर्याल) निर्वाचित हुँदै छन् । आज आतबार बिहान ११ बजेदेखि सुरु हुने बैठकले अर्याललाई सभामुख निर्वाचित गर्नेछ । संसद् सचिवालयको कार्यसूची अनुसार सभामुखको उम्मेदवारमा शुक्रबार अर्यालको एकल उम्मेदवारी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका उनी रास्वपाको सदस्यता त्याग्दै सभामुख बन्नेछन् । यसअघि गृहमन्त्री बन्ने भन्ने चर्चा भएपनि बालेनले गृहमन्त्रीमा नपत्याउँदा अर्याल सभामुख बन्न पुगेका हुन् ।
अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यहीअनुसार अघि बढ्नेछु ।’
उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ ।
उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु, त्यसको निर्णय प्रक्रियामै छ । प्रक्रिया सक्किएर त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्याय सम्वद्ध मैले गर्नेछु ।’
धादिङको ज्वालामुखी गाउँपालिकामा २०३२ सालमा बुबा भोजराज र आमा गुणमायाको कोखबाट जन्मिएका अर्यालले २०४९ सालमा काठमाडौं आएर काम सुरु गरेका थिए ।
काठमाडौं आएर उनले मजदुरी गरी जीवन अघि बढाए । रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम थालेका उनी पछि इजिलिंक रेमिटेन्सको सिइओसम्मको जिम्मेवारीमा काम गरे ।
२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान गए । जापानमा करिब आठ वर्ष काम गरे । जापानमा कमाएको पैसा नेपालमा आएर पर्यटन क्षेत्रमा लगानी लगे । पर्यटन व्यवसायबाट वैदेशिक रोजागरीपछि नेपालमा काम थालेका उनले वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरी व्यावसायिक काम थाले । अर्यालले सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्यांग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी सिर्जना गरे र वैदेशिक मुद्रा भित्राउने काममा जुटे ।
अघिल्लो निर्वाचनबाट समानुपातिक प्रणालीबाट अर्याल सांसद बनेका थिए । रास्वपा सरकारमा सहभागी हुँदा उनी दुईपटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने । मन्त्रीका रूपमा उनको पहिलो कार्यकालमा २२ दिनको मात्र भयो । पुष्षकमल दाहाल प्रधानमन्त्री हुँदा २०७९ माघ ३मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए । २०७९ माघ १३मा सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य हुन योग्य नरहेको ठहर गरेपछि रास्वपाले सरकार छोड्दा अर्याल २२ दिनमात्र मन्त्री बनेर बाहिरिएका थिए । पहिला सरकार छाडेको एक वर्षपछि उनी पुनः त्यही मन्त्रालयको जिम्मेवारीमा पुगे । सभापति रवि लामिछाने जिम्वारीमा नरहँदा उनी नै कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेर पार्टी सञ्चालन गरेका थिए । सभामुखमा डिपी निश्चित भए पनि उपसभामुखको विषयमा भने रस्साकस्सी चलिरहेको छ ।
पार्टी सभापति रवि लामिछानेले उपसभामुखको विषयमा कसैसँग पनि छलफल र सहमति नभएको बताए पनि उनी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसँग छलफल भने गरेको बुझिएको छ । उपसभामुख पद संवैधानिक परिषद्का लागि निकै महत्वपूर्ण हुने भएकाले यसमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पनि चासो राखेका छन् । बालेन भने श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उठाउने उम्मेदवारलाई सघाउने मनस्थितिमा रहेको बुझिएको छ । संविधानअनुसार एउटै दल र एउटै लिंगको सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था भएकाले रास्वपाभित्रको आन्तरिक समीकरण कसरी मिल्छ त्यसअनुसार नै उपसभामुख चुनिने पक्का छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उपसभामुखको चुनावमा प्रतिस्पर्धा गर्ने प्रस्ट भने पारेको छ ।









Facebook Comments