काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले सरकारले तत्काल भाडा समायोजन नगरे आफ्नै निर्णयमार्फत नयाँ भाडादर लागू गर्ने चेतावनी दिएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको अनुपातमा भाडा समायोजन नगर्दा व्यवसाय सञ्चालन नै संकटमा परेको जनाएको हो।

महासंघका महासचिवडेकनाथ गौतमले इन्धन मूल्य बढ्दा हवाई भाडा तत्काल समायोजन हुने तर स्थल यातायाततर्फ सरकार उदासीन देखिएको आरोप लगाए। “बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएकाले अब वैज्ञानिक आधारमा भाडा स्वघोषणा गर्नुको विकल्प छैन,” विज्ञप्तिमा उल्लेख छ।

ad

महासंघका अनुसार पछिल्ला पटक–पटकको पेट्रोलियम पदार्थ मूल्यवृद्धिले दैनिक लाखौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको छ। यस्तो अवस्थामा सेवा निरन्तर सञ्चालन गर्न नसकिने भन्दै यात्रुवाहकमा ११.३३ प्रतिशत, तराई मालवाहकमा ८.८१ प्रतिशत र पहाडी मालवाहकमा १४.२९ प्रतिशत भाडा वृद्धि आवश्यक रहेको दाबी गरिएको छ।

महासंघले २०७२ सालयता भाडा समायोजन नभएको उल्लेख गर्दै तत्काल निर्णय नगरे सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ।