
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भइसकेपछि उपसभामुख पद कसले पाउने भन्ने विषयमा राजनीतिक चासो तीव्र बनेको छ। तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसबारे अझै औपचारिक निर्णय नगरेको जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने प्रावधानका कारण रास्वपाले उपसभामुखमा कुन दललाई समर्थन गर्छ भन्ने विषय अहिलेको मुख्य राजनीतिक बहस बनेको छ।
रास्वपाका सभापति रवि लामिछाने ले भने हालसम्म उपसभामुखबारे कुनै छलफल नै सुरु नभएको बताएका छन्। 'पहिले सभामुखको प्रक्रिया टुंग्यायौँ, अब मात्र उपसभामुखबारे छलफल अघि बढ्छ,' उनले सिंहदरबारमा सञ्चारकर्मीहरूसँग भने।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भने सार्वजनिक रूपमा उपसभामुखमा दाबी प्रस्तुत गर्न थालेका छन्।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रमुख प्रतिपक्ष दलको हैसियतले आफ्नो दाबी स्वाभाविक भएको बताए। 'संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन सक्दैन, त्यसैले हाम्रो दाबी स्वाभाविक हो,' उनले भने।
त्यस्तै, नेकपाका सांसद रमेश मल्लले पनि आफ्नो पार्टीले उपसभामुख पदमा दाबी गर्ने नीति रहेको बताए।
यसबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीमध्ये कुनै एक दललाई रास्वपाले समर्थन गर्न सक्ने चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ। राप्रपाकी सांसद खुस्बु वलीको नामसमेत चर्चामा आए पनि पार्टीभित्र औपचारिक प्रस्ताव नभएको जनाइएको छ।
उपसभामुख चयनमा संवैधानिक परिषद् को शक्ति सन्तुलनलाई पनि रास्वपाले ध्यानमा राख्ने देखिएको छ। परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।
विश्लेषकहरूका अनुसार रास्वपाले उपसभामुख चयन गर्दा राजनीतिक सन्तुलन र संवैधानिक निकायमा प्रभाव सुनिश्चित गर्ने रणनीति अपनाउने सम्भावना उच्च रहेको छ।










Facebook Comments