
काठमाडाै । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकारले आर्थिक तथा प्रशासनिक सुधारका कामहरू द्रुत गतिमा अघि बढाइरहेको बताएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले वालेन्द्र शाहले तय गरेको कार्यगतिअनुसार सरकार अघि बढिरहेको उल्लेख गरे।
'प्रधानमन्त्रीले एउटा गति तय गरिदिनुभएको छ, र अहिले सिङ्गो सरकार त्यसैलाई पछ्याइरहेको छ,' मन्त्री वाग्लेले भने, 'मन्त्रालयहरूबीच नै राम्रो काम गर्ने होडबाजी चलेको छ, जसले समग्र कामको गति बढाएको छ।'
उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयास गरेको बताए। 'उद्योगीहरू वर्षौँदेखि विभिन्न समस्याबाट गुज्रिरहेका छन्, त्यसलाई सम्बोधन गर्न हामी सुरुदेखि नै लागिरहेका छौँ,' उनले भने।
मन्त्री वाग्लेले रामेश्वरप्रसाद खनाल को नेतृत्वमा तयार पारिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका सिफारिसहरू कार्यान्वयनतर्फ अघि बढाइएको जानकारी दिए। सोहीअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ वटा पुराना तथा असान्दर्भिक ऐनहरू हटाउने निर्णय गरिएको उनले बताए।
'यो सुधारको सुरुआत मात्र हो, आगामी दिनमा अझ ठूला कदम चालिनेछन्,' उनले थपे।
कार्यक्रममा मन्त्री वाग्लेले आगामी बजेट निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै निजी क्षेत्रका सुझावलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।
यसै अवसरमा सङ्घका अध्यक्ष हरि गौतम ले उद्योगमैत्री नीति अभावका कारण व्यवसायीहरू समस्यामा परेको गुनासो गरे। उनले उद्योग सञ्चालनका लागि अत्यावश्यक कच्चापदार्थका रूपमा रहेको विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन सरकारसँग माग गरे।










Facebook Comments