काठमाडौँ — पश्चिम एसियामा विकसित भइरहेको तनावपूर्ण अवस्थाबीच सामाजिक सञ्जालमा युद्धसम्बन्धी भ्रामक सामग्री फैलाएको आरोपमा विभिन्न खाडी मुलुकमा ११ जना नेपाली नागरिक पक्राउ परेका छन्।परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्तालोकबहादुर पौडेल क्षेत्रीका अनुसार पक्राउ पर्नेमासाउदी अरेबियामा चार,युनाइटेड अरब इमिरेट्सकतारमा तीन–तीन तथाओमानमा एक जना रहेका छन्।

ad

इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावसँग सम्बन्धित क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी सर्वसाधारणमा त्रास फैलाएको आरोप उनीहरूमाथि लागेको छ। सम्बन्धित देशका कानुनअनुसार यस्ता सामग्री सार्वजनिक गर्नु दण्डनीय अपराध मानिन्छ।

“पक्राउ परेका नेपाली नागरिकको अवस्था बुझ्ने र आवश्यक परे कूटनीतिक पहलमार्फत सहयोग गर्ने काम भइरहेको छ,” प्रवक्ता क्षेत्रीले भने, “कुन कानुनअन्तर्गत पक्राउ गरिएको हो र कति सजाय वा जरिवाना लाग्न सक्छ भन्नेबारे विस्तृत जानकारी संकलन भइरहेको छ।”

मन्त्रालयले हालसम्म युद्धको प्रत्यक्ष असरका कारण व्यापक रूपमा नेपाली श्रमिकले रोजगारी गुमाउने अवस्था नरहेको जनाएको छ। विशेषगरी होटल, रेष्टुरेन्ट र पर्यटन क्षेत्रमा काम गर्ने नेपालीहरूमा केही चिन्ता देखिए पनि समग्र श्रम बजारमा ठूलो जोखिम नरहेको सम्बन्धित नेपाली नियोगहरूले जानकारी दिएका छन्।

युद्धका कारण असुरक्षित महसुस गर्ने वा स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको ‘कल सेन्टर’ मार्फत उडान अवस्था, स्वदेश फिर्ती र श्रम स्वीकृतिसम्बन्धी जानकारी लिनेको संख्या बढिरहेको छ।

मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४२० नेपालीले नाम दर्ता गराएका छन्। पछिल्लो समय आफू असुरक्षित रहेको बताउनेहरूको संख्या घट्दै गएको र धेरैजसोले परिस्थिती सामान्य बन्दै गएको प्रतिक्रिया दिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।