काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ३४ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंक का अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। आठ महिनाको अवधिमा सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ। अमेरिकी डलरमा हेर्दा सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २३ अर्ब ८ करोड पुगेको छ, जुन १८.३ प्रतिशतको वृद्धि हो।

ad

सञ्चितिमध्ये ठूलो हिस्सा नेपाल राष्ट्र बैंक मै रहेको छ। बैंकमा रहेको सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थासँग रहेको सञ्चिति पनि उल्लेख्य रूपमा बढेर ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ।

सञ्चिति पर्याप्तताको हिसाबले पनि अवस्था सुदृढ देखिएको छ। वर्तमान सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंक ले जनाएको छ।

त्यस्तै, विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५५.९ प्रतिशत पुगेको छ भने कुल आयातसँगको अनुपात १५३.८ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४०.८ प्रतिशत पुगेको छ। यी सूचकहरू अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा सुधारिएका छन्, जसले देशको बाह्य क्षेत्र मजबुत बन्दै गएको संकेत गर्छ।