काठमाडौं । पर्वतारोहणमा आएका विदेशी पर्यटकको ‘फेक उद्धार’ गरी बीमा रकम असुल गरेको आरोपमा मुद्दा खेपिरहेका १० जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौं का न्यायाधीश जगतबहादुर पौडेल को इजलासले अभियुक्तहरूलाई विभिन्न रकमको धरौटीमा छाड्न आदेश दिएको हो।

ad

अदालतले एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालि का सञ्चालक मुक्ति पाण्डे, म्यानेजर सुवास केसी, माउन्टेन रेस्क्यू सर्भिस प्रालि का सञ्चालक जयराम रिमाल तथा नेपाल चार्टर्ड सर्भिस प्रालि का सञ्चालक रविन्द्र अधिकारीसँग जनही ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

त्यसैगरी, नेपाल चार्टर्ड सर्भिस प्रालि का म्यानेजर विवेकराज थपलियासँग १ लाख रुपैयाँ धरौटी तोकिएको छ। अन्य अभियुक्तहरू—गिर्वाणराज तिमल्सिना, विवेक पाण्डे, खेमराज अधिकारी, पासाङ शेर्पा र सन्दिप तिवारी—सँग जनही ५ लाख रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।

यस प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौं ले चैत ८ गते मुद्दा दायर गरेको थियो। कुल ३२ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दामा राज्यविरुद्धको कसुरअन्तर्गत संगठित ठगीको आरोप लगाइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले माघ ११ गते प्राप्त सूचनाका आधारमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई नक्कली रूपमा बिरामी देखाई हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पताल भर्ना गराई बीमा दाबी गर्ने जस्ता गतिविधि संगठित रूपमा हुँदै आएको पाइएको थियो।

प्रहरीका अनुसार यस्तो कार्यमार्फत बीमा कम्पनीबाट ठूलो रकम असुल्ने गिरोह सक्रिय रहेको आशंका गरिएको छ। मुद्दा सम्बन्धी थप कानुनी प्रक्रिया भने अदालतमा जारी रहेको छ।