काठमाडाैं । वन क्षेत्र अतिक्रमण गरी अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको खानी तथा क्रसर उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ। डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले तेमाल गाउँपालिका–१ मा सञ्चालित हेन्जन दोर्जे प्राइभेट लिमिटेडलाई सञ्चालनमा रोक लगाउँदै थप अनुसन्धान थालेको जनाएको हो।

कार्यालयका अनुसार प्रारम्भिक छानबिनमा उक्त उद्योगले करिब ३ दशमलव ४१ हेक्टर (झन्डै ६७ रोपनी) वन क्षेत्र अतिक्रमण गरी खानी तथा क्रसर सञ्चालन गर्दै आएको देखिएको छ। लामो समयदेखि गैरकानुनी उत्खनन् हुँदै आएको पुष्टि भएपछि कम्पनीविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको जनाइएको छ।

ad

डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापा का अनुसार प्रारम्भिक अनुसन्धानमा कम्पनी दोषी देखिएपछि विस्तृत छानबिनका लागि अनुसन्धान टोली गठन गरिएको छ। टोलीले स्थलगत अध्ययन, प्रमाण संकलन तथा प्राविधिक विश्लेषणलाई तीव्रता दिएको उनले बताए। आवश्यक प्रमाण जुटेपछि कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

यसैबीच, सव–डिभिजन वन कार्यालय नमोबुद्धका वन अधिकृत हरिचन्द्र तिमल्सिना को संयोजकत्वमा गठित समितिले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी उद्योग बन्द गराएको जनाएको छ। समितिका अनुसार कम्पनीले वर्षौँदेखि वन क्षेत्र अतिक्रमण गर्दै सञ्चालन गरेको पुष्टि भइसकेको छ।

स्थानीयवासीको पटक–पटकको उजुरीपछि अनुगमन थालिएको थियो। प्रारम्भिक प्रतिवेदनका आधारमा उद्योग सञ्चालकविरुद्ध वन अतिक्रमणसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। साथै, उक्त क्षेत्रबाट हालसम्म कति परिमाणमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरिएको थियो भन्ने विषयमा समेत प्राविधिक मूल्यांकन भइरहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार उद्योग तेमाल–२ का शंकरमान तामाङ र शान्ति लामा तथा पाँचखाल नगरपालिका–११ का राम पन्तको नाममा दर्ता भई सञ्चालन हुँदै आएको थियो।