
काठमाडौं । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताएका हुन् ।
उनले भने, ‘चार महिनासम्म मन्त्री भएँ र मन्त्रीको रुपमा काम गर्दा अनेकौं समस्याहरु चरम राजनीतीककरण र विकृतिहरु देखेँ । ती विकृति हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरुमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिए ।’
यसक्रममा उनले ३ वटा विधेयकका मस्यौदा तयार गरी अध्यादेशमार्फत ल्याउने र ४ वटा नियमावली लागू गर्ने प्रयास गरेको बताए । तर त्यतिबेला कामचलाउ सरकार भएकाले ती प्रयास सफल हुन नसकेको उनले बताए ।
‘माघ ६ गते उम्मेदवारी दर्ता गर्नु ४० घण्टा अघिसम्म पनि ती अध्यादेश र नियमावली ल्याउन मैले सक्दो प्रयास गरें, तर विधायन समितिबाट काम अगाडि बढेन,’ उनले भने । उनले तत्कालीन मन्त्रिपरिषद्ले ती प्रस्तावहरू अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको भए पनि प्रक्रिया अघि नबढ्दा आफूले सोचेअनुसार सुधार गर्न नसकेको गुनासो गरे ।
उनले आफूलाई राजनीतिज्ञभन्दा समाजसेवीका रूपमा प्रस्तुत गरेका छन्। उनले भने, ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष-विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ।’
पुनले आफूले प्रतिनिधिसभा चुनाव लड्ने सोचसमेत नरहेको बताउँदै २०८२ भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि युवाहरूको आग्रहमा राजनीतिमा आएको उल्लेख गरे। ‘त्यतिबेला म ताप्लेजुङका गाउँ-गाउँमा किताब बेचिरहेको थिएँ, तर जेनजी भाइबहिनीहरूले मलाई शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए,’ उनले भने।










Facebook Comments