काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु खाता र शोधनान्तर स्थिति दुवैमा उल्लेख्य बचत देखिएको हो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ५५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १९७ अर्ब ३ करोड रुपैयाँ मात्र रहेको थियो। अमेरिकी डलरमा हेर्दा चालु खाता बचत १ अर्ब ४६ करोडबाट बढेर ३ अर्ब ८८ करोड पुगेको छ, जसले बाह्य आम्दानीको स्थिति बलियो बनेको संकेत गर्छ।

ad

त्यस्तै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४१ करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि वृद्धि भई १० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ, जब कि अघिल्लो वर्ष सोही अवधिमा यस्तो लगानी ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।

शोधनान्तर स्थितितर्फ पनि उल्लेखनीय सुधार देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको ३१० अर्ब ३७ करोड रुपैयाँको तुलनामा दोब्बरभन्दा बढी हो। अमेरिकी डलरमा यस्तो बचत २ अर्ब २९ करोडबाट बढेर ४ अर्ब ६१ करोड पुगेको छ।

समग्रमा, चालु आर्थिक वर्षको समीक्षा अवधिमा बाह्य क्षेत्रका सूचकहरू सकारात्मक देखिँदा विदेशी मुद्रा आम्दानी, लगानी र पुँजी प्रवाहमा सुधार भएको संकेत मिलेको छ।