काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नवगठित सरकारलाई कामका आधारमा मूल्यांकन गर्दै रचनात्मक सहयोग गर्ने बताएका छन् । 

बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्ण सहयोग रहने बताए ।

ad

नेपाल कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमाले संघीय लोकतान्त्रिक गणतन्त्र बलिदानीबाट प्राप्त भएको उल्लेख गर्दै सरकारका १०० दिने कार्यसूची अपूर्ण रहेको आरोप लगाइन् । 

नेपाल कम्युनिष्ट पार्टी एमाले सांसद प्रेमप्रसाद दंगालले सरकारलाई बधाई दिँदै जनताको जीवनस्तर सुधार, राष्ट्रियता र एकता सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कार्की आयोगको प्रतिवेदनका आधारमा भएका पक्राउप्रति आपत्ति जनाए ।   

जनता समाजवादी पार्टी जसपा नेपालकी पूजा चौधरीले सुशासनका लागि सरकारका प्रयासमा समर्थन जनाउँदै भ्रष्टाचार नियन्त्रणको प्रयास स्वागतयोग्य रहेको बताइन् । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले गणतन्त्र सङ्घर्षबाट प्राप्त भएको स्मरण गराउँदै बेरोजगारीजस्ता समस्या अझै कायम रहेको बताए । 

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले कार्की आयोगको छानबिन एकपक्षीय रहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गरे ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा वाचन गरेर बैठकमा सुनाए । 

साथैसाथै राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते र विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते गर्ने कार्यतालिका तय गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी गराए ।

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २२ गते आइतबार १२ बजेर १५ मिनेटमा बस्नेछ ।