काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्ला दिनमा चर्चामा रहेको ‘जेनजी आन्दोलन’लाई स्वाभाविक जनविद्रोह नभएको बताएका छन्। भदौ २३ र २४ गते भएका गतिविधिबारे बोल्दै उनले उक्त आन्दोलन नेपाली समाजभित्रबाट स्वतःस्फूर्त रूपमा उत्पन्न नभई बाह्य प्रभावबाट सञ्चालित भएको दाबी गरे।

स्वर्गीय कमल कोइरालाको प्रथम स्मृति कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले आफूले उक्त घटनालाई ‘अर्ग्यानिक’ मान्न नसक्ने स्पष्ट पारे। उनले आन्दोलनको स्वरूप, ढाँचा र प्रस्तुतिका आधारमा यसमा बाह्य शक्तिको संलग्नता रहेको संकेत गर्दै यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी समेत गरे।

ad

उनका अनुसार, वर्तमान राजनीतिक परिवेशले प्रमुख दलहरूलाई थप दबाबमा राखिरहेको छ। विशेषगरी नेपाली कांग्रेस र वामपन्थी शक्तिहरूका लागि आगामी दिन चुनौतीपूर्ण हुने उनको भनाइ छ। दलहरू आन्तरिक विवाद र आरोप–प्रत्यारोपमै अल्झिरहेकोप्रति उनले असन्तुष्टि जनाए।

कोइरालाले पार्टीहरूबीच एकता र सहकार्यको आवश्यकता औंल्याउँदै यस्तो अवस्था कायम रहिरहे भविष्यमा गम्भीर राजनीतिक असर पर्न सक्ने चेतावनी दिए। उनका अनुसार, यदि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समन्वय गर्दै अघि बढ्न सकेनन् भने आगामी निर्वाचनहरूमा उनीहरूको अवस्था कमजोर बन्न सक्नेछ।