
काठमाडौं । काठमाडौंमा यही २०८३ साल बैशाख१ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार दुई वटा रूटमा चारवटा बस सञ्चालन गर्न लागिएको हो।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रूट हुनेछ।
उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रूट हो। थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो। यी दुई रूटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्।
‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नुपर्ने अहिलेको अवस्थामा सुधार गर्न जरूरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरू गर्न लागेका हौं,’ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशारी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ। विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ। यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौं।’
सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन्। तोकिएको रूटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन्। बसमा सिसिटिभी क्यामरा जडान हुनेछन्। सुरक्षाका लागि नगर प्रहरी हुनेछन्।










Facebook Comments