काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरिरहेका छन् । 

सोमबार कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका प्रधानमन्त्रीले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे ।

ad

उक्त संवादका क्रममा सोमबार जस्तै मंगलबार पनि नेपा एमालेका सांसदहरूले शनिबार पक्राउ परेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गरे।

मंगलबारको छलफलमा बझाङबाट निर्वाचित एमाले सांसद ऐनबहादुर महरसहितले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गरेका थिए । एमाले सांसदहरूले ओलीबारे प्रश्न उठाउँदा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया दिएनन् । शाहले मंगलबार पनि सांसदहरूका कुरा सुनेर आफूले कुनै जवाफ नदिएको एकजना सांसदले बताएका छन्  ।

उक्त संवादका क्रममा एमालेका सांसद महरले कर्मचारीहरूका कारण देशमा धेरै समस्या आएको बताएका थिए । उनले कर्मचारीतन्त्रमा व्यापक सुधार गर्न पनि आग्रह गरे । 

यस प्रसंगमा भने प्रधानमन्त्रीले जवाफ फर्काउँदै कांग्रेस-एमालेलाई दोष दिए । उनले त्यसको जड र मुख्य कारण नै कांग्रेस-एमाले भएकोले त्यहीँबाट सुधारको थालनी गर्न जवाफ दिए ।