
काठमाडौँ ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग अभिमुखीकरण तालिमका नाममा तोकिएभन्दा बढी शुल्क उठाए कडा कारबाही हुने चेतावनी दिएको छ। विभागले पछिल्लो समय शुल्क वृद्धि भएको भन्ने हल्ला असत्य भएको स्पष्ट पार्दै अधिक शुल्क लिने संस्थाको इजाजतपत्र नै खारेज गरिने जनाएको हो।
विभागद्वारा जारी सूचनाअनुसार वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको शुल्क हालसम्म पनि प्रति प्रशिक्षार्थी ७ सय रुपैयाँ नै कायम रहेको छ। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ अनुसार दुई दिन सञ्चालन हुने उक्त तालिमको शुल्कमा कुनै वृद्धि नभएको विभागले प्रष्ट पारेको छ।
तर व्यवहारमा केही तालिम प्रदायक संस्थाले श्रमिकसँग २ हजार १ सय रुपैयाँसम्म असुलिरहेको गुनासो आएपछि विभागले यसबारे स्पष्टिकरण दिँदै तोकिएको दरभन्दा बढी रकम लिनु गैरकानुनी हुने जनाएको छ। यस्तो गतिविधि भएमा सम्बन्धित निकायमा उजुरी दिनसमेत विभागले आग्रह गरेको छ।
विभागले २०८१ असोज १३ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिलाई पुनः स्मरण गराउँदै अभिमुखीकरण शुल्क यथावत रहेको दोहोर्याएको छ। साथै आगामी दिनमा कसैले ७ सय रुपैयाँभन्दा बढी शुल्क लिएको प्रमाणित भएवैदेशिक रोजगार ऐन, २०६४तथा सम्बन्धित नियमावलीअनुसार त्यस्ता संस्थाको अनुमति स्वतः रद्द गरिने चेतावनी दिएको छ।
विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगी हुन नदिन सतर्क रहन र कुनै अनियमितता देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।










Facebook Comments