काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको समीक्षा र पार्टीको आगामी राजनीतिक दिशाबारे छलफल गर्न सहमहामन्त्रीहरूलाई प्रदेशस्तरमा खटाएको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा ७ मध्ये ६ प्रदेशमा सहमहामन्त्रीहरूलाई जिम्मेवारी तोकिएको जानकारी दिएका छन्। केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार यो जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ।

ad

पार्टीले ७ वटै प्रदेशका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा क्षेत्रगत समीक्षा गर्दै निर्वाचन परिणामको विश्लेषण र अबको राजनीतिक बाटो तय गर्ने उद्देश्य राखेको छ। सोही अनुसार विभिन्न प्रदेशमा कार्यक्रमको मिति र संयोजकसमेत निर्धारण गरिएको छ।

विज्ञप्तिअनुसार कोशी प्रदेशको विराटनगरमा चैत २३ गते सहमहामन्त्री डिला संग्रौला पन्तको संयोजकत्वमा कार्यक्रम हुनेछ भने मधेश प्रदेशको जनकपुरमा चैत २५ गते सहमहामन्त्री फरमुल्लाह मन्सुरको संयोजकत्वमा समीक्षा बैठक आयोजना गरिनेछ। त्यसैगरी लुम्बिनी प्रदेशको दाङमा चैत २९ गते सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा कार्यक्रम तय गरिएको छ।

यसैक्रममा बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते सहमहामन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा कार्यक्रम हुनेछ भने कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते सहमहामन्त्री कर्णबहादुर बुढाको नेतृत्वमा समीक्षा गरिनेछ। सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा कार्यक्रम हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीले यी कार्यक्रममार्फत निर्वाचनको समग्र समीक्षा गर्दै संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक रणनीति स्पष्ट पार्ने लक्ष्य राखेको जनाएको छ।