
काठमाडौं । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको हो । एमाले महासचिव शंकर पोखरेलका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।
वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गरिने पनि एमालेले जनाएको छ । एमालेले सर्वपक्षीय नागरिक संवाद चलाउने निर्णय पनि गरेको छ।
यसका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ ।
बैठकले संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी बनाउने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ । यस्तै एमाले संसदीय दलको बैठक बुधबार ३ बजे पार्टी कार्यालयमा बस्ने पनि महासचिव पोखरेलले बताए ।










Facebook Comments