काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आज काठमाडौं धुम्बाराहीमा भेला राखेकोमा त्यसलाई लक्षित गर्दै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले  समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने र पार्टी अनुशासन सबैले पालना गर्नुपर्ने बताएका छन्।


उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै  प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिने बताउँदै यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउने  तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय नगर्ने बताएका छन् । 

ad

उनले १५ औं महाधिवेशन घोषणा भइसकेको पनि उल्लेख गर्दै अगाडि लेखेका छन्– ‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ, नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौं ।