काठमाडौं । बहुमतसहितको स्थिर सरकार गठनपछि सेयर बजारमा उत्साह आउने अपेक्षा विपरीत नेपाल स्टक बजार भने लगातार ओरालो लागिरहेको छ। सरकार गठनअघि उल्लेख्य रूपमा उकालो लागेको बजार नयाँ सरकार बनेसँगै घट्दो क्रममा देखिएको हो।

नयाँ सरकार गठन भएको दिन शुक्रबार परेकाले त्यस दिन कारोबार भएन। शनिबार सार्वजनिक बिदा परेपछि आइतबार पहिलो कारोबार खुलेको थियो। तर, पहिलो दिनमै बजार ७१ अंकले घट्यो। त्यसको भोलिपल्ट सोमबार पनि बजारले ओरालो यात्रा रोक्न सकेन र थप ४७ अंकले झर्‍यो।

ad

सोमबारको गिरावट अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशत हाराहारीको हो। आइतबार पनि बजार २.४० प्रतिशतले घटेको थियो। स्थिर सरकार गठनसँगै बजार बढ्ने आम अपेक्षाबीच आएको यो निरन्तर गिरावटले लगानीकर्तामा अन्योलता बढाएको छ।

कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। आइतबार १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजार सोमबार घटेर १२ अर्ब ९६ करोड रुपैयाँमा सीमित भयो। यसले लगानीकर्ताको सक्रियता पनि कमजोर बन्दै गएको संकेत गर्छ।

विश्लेषकहरूका अनुसार एकल बहुमत नजिकको बलियो सरकार बनेपछि नीतिगत स्थिरता आउने र बजार सकारात्मक दिशामा जाने अपेक्षा थियो। तर, पछिल्ला राजनीतिक गतिविधि, धरपकड र सम्भावित आन्दोलनको त्रासले बजारमा नकारात्मक प्रभाव परेको बताइन्छ।

इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बजारमा देखिएको गिरावटको मुख्य कारण राजनीतिक मनोविज्ञान भएको बताए। उनका अनुसार स्थिर सरकार भए पनि सडकमा देखिएका असन्तुष्टि र आन्दोलनको सम्भावनाले लगानीकर्तामा त्रास पैदा गरेको छ।

'अहिले आर्थिक सूचकहरू धेरैजसो सकारात्मक छन्, तर राजनीतिक असहजताले बजारलाई दबाबमा राखेको छ,' उनले भने, 'आन्दोलन र अन्योल हटेपछि बजारले पुनः सकारात्मक गति लिन सक्छ।”

लगानीकर्ताहरू अहिले सरकारको स्पष्ट आर्थिक नीतिको पर्खाइमा छन्। यदि सरकारबाट सेयर बजारमैत्री नीति र स्थिर वातावरणको सन्देश आएमा बजारमा पुनः विश्वास फर्किने अपेक्षा गरिएको छ।