काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण माग गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

अदालतले लेखकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रक्रिया पालना भए-नभएको स्पष्ट पार्न भनेको छ। साथै, २०८२ भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन'का क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन र अनुसन्धानको सक्कल मिसिल समेत झिकाउन आदेश दिइएको छ।

ad

पूर्वगृहमन्त्री लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। लेखकलाई सोही आयोगको सिफारिस कार्यान्वयनका क्रममा गत शनिबार पक्राउ गरिएको थियो।