काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिक सांसदको कार्यसम्पादन कमजोर देखिएमा फिर्ता बोलाउने भएकाे छ।

केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई नयाँ प्रावधानको बारेमा जानकारी दिएका हुन्। 

ad

उनले विशेष महाधिवेशनबाट पारित विधानको दफा ४ को व्याख्या गर्दै सांसदको संसदीय जिम्मेवारी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने व्यवस्था सुनाएका थिए।

नयाँ विधानअनुसार, प्रचलित कानुन वा पार्टीको निर्देशनविपरीत काम गरेको ठहर भएमा, वा कार्यसम्पादन सन्तोषजनक नभएमा पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ।

उपसभापति शर्माले पार्टीले संशोधित प्रावधानको कार्यान्वयनका लागि सांसदहरूको सुझाव समेटेर निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि दिएका छन्।