काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न प्रक्रिया अघि बढाएको छ । खड्कामाथि अनुसन्धान गर्न विभागले छुट्टै टिम बनाएर अनुसन्धान प्रक्रिया थालेको हो ।

विभागका सूचना अधिकारी जितेन्द्र अधिकारीले थुनामा राखेर अनुसन्धान गर्न टिम बनिसकेको र बाँकी प्रक्रिया आजबाट नै थालिने बताए ।

ad

विभागले त्यसका लागि खड्कालाई अदातल पेस गर्ने तयारी गरेको छ । सूचना अधिकारी जितेन्द्रले भने, 'उहाँलाई सकेसम्म आज नै अदालत पेस गरेर थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्छौँ । त्यसका लागि तयारी भएको छ ।'

विभागले अरोपित पक्राउ परेको २४ घण्टाभित्र थुनामा राख्न अदालतबाट अनुमति लिने कानुनी व्यवस्था छ । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान पक्राउ गरेको हो ।