
काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै सर्वसाधारण नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डा. सुवास घिमिरेको को नेतृत्वमा निःशुल्क दन्त स्वास्थ्य शिविरहरु आयोजना गरेको छ ।
उक्त शिविरबाट सयौं स्थानीय नागरिक लाभान्वित भएका छन्। उक्त शिविरमा विशेषगरी दन्त परीक्षण, परामर्श, सामान्य उपचार तथा आवश्यक औषधि वितरण सेवा प्रदान गरिएको थियो। शिविरमा वृद्धवृद्धा, महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकका लागि यस्तो शिविर प्रभावकारी माध्यम बनेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
शिविरको नेतृत्व गरेका डा. घिमिरेले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्नेमा जोड दिए । उनले ओम समाज डेन्टल हस्पिटलले नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ र आगामी दिनमा अझ व्यापक रूपमा सेवा विस्तार गर्ने योजना बनाइएको जानकारी पनि दिए । नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्।
यातायातको अभाव, आर्थिक समस्या र स्वास्थ्य चेतनाको कमीका कारण धेरै नागरिकले समयमै उपचार पाउन सकिरहेका छैनन्। यस्तो अवस्थामा ओम समाज डेन्टल हस्पिटलले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरहरूले ठूलो राहत प्रदान गरेका छन्।










Facebook Comments