
काठमाडौँ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत ल्याएसँगै नयाँ सत्ता संरचनाको रूपरेखा तीव्र गतिमा कोरिन थालेको छ। सरकार गठनसँगै संसदको नेतृत्व चयन विशेषतः सभामुख र उपसभामुख अब प्रमुख राजनीतिक चासोको विषय बनेको छ।
रास्वपाभित्रको आन्तरिक सहमतिअनुसार उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याललाई सभामुख बनाउने निर्णय लगभग टुंगोमा पुगेको स्रोतहरू बताउँछन्। प्रारम्भमा उनलाई गृहमन्त्री बनाउने चर्चा भए पनि अन्ततः सो जिम्मेवारी अन्य नेताले पाउने भएपछि अर्याललाई संसदको नेतृत्वमा लैजाने रणनीति तय गरिएको हो।
अब प्रश्न उठेको छ—उपसभामुख को बन्ने ? नेपालको संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने व्यवस्था छ। यही संवैधानिक बाध्यताका कारण रास्वपाले उपसभामुख पदमा दाबी गर्न पाउने छैन। यसले स्वाभाविक रूपमा दोस्रो ठूलो दल नेपाली कांग्रेस लाई अग्रसर बनाएको छ।
राजनीतिक समीकरण हेर्दा कांग्रेसले उपसभामुख पदमा महिला उम्मेदवार अघि सार्ने सम्भावना बलियो देखिन्छ। यद्यपि, संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूबाट पनि सहमतिका आधारमा उम्मेदवारी आउन सक्ने सम्भावना पूर्ण रूपमा नकारिएको छैन।
संविधानको धारा २९९ ले सभामुख र उपसभामुख चयनको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। संसद अधिवेशन सुरु भएको २० दिनभित्र दुवै पदका लागि निर्वाचन गर्नुपर्ने प्रावधान छ। सहमति नभए बहुमतको आधारमा निर्णय हुने व्यवस्था भए पनि, रास्वपाको स्पष्ट बहुमतका कारण सहमति प्रक्रियामै चयन हुने आकलन गरिएको छ।
सभामुखका लागि प्रस्तावित अर्यालको राजनीतिक यात्रा पनि रोचक छ। धादिङमा जन्मिएका उनी सामान्य श्रमिक जीवनबाट उक्लिँदै राजनीतिमा स्थापित भएका व्यक्ति हुन्। २०४९ पछि रोजगारीका लागि काठमाडौं आएका अर्यालले सुरुमा रेस्टुरेन्टमा काम गरे। त्यसपछि वैदेशिक रोजगारीका लागि जापान पुगेका उनी स्वदेश फर्किएपछि पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय रहे।
२०७९ को निर्वाचनमा समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गरेका अर्यालले त्यसपछि गठबन्धन सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। अब उनी संसदको सर्वोच्च पद सभामुख सम्हाल्ने सँघारमा पुगेका छन्।
नयाँ शक्ति उदाएको वर्तमान राजनीतिक परिवेशमा सभामुख–उपसभामुखको चयन केवल पदपूर्ति मात्र होइन, शक्ति सन्तुलन र सहकार्यको संकेत पनि हुनेछ। त्यसैले उपसभामुख को बन्ने भन्ने प्रश्नले अझै केही दिन राजनीतिक वृत्तलाई तताइरहने देखिन्छ।










Facebook Comments