काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलो क्याबिनेट बैठकबाट मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको पहिलो क्याबिनेट बैठकमा उनले काम गर्न नसके मन्त्रीहरूले राजीनामा दिनुपर्ने भन्दै द्रुत गतिमा काम गर्न निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई बताए । 

ad

‘रास्वपा र मन्त्रीहरूको काम गर्ने स्पिड बढी हुन्छ‚’ बालेनको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने‚ ‘मलाई आशा छ, तपाईंहरूले काम गर्न सक्नुहुन्छ । यदि गर्न सकिन्न भन्ने लाग्छ भने राजीनामा दिनू, अर्को मान्छे आउँछ ।’ 

बालेनले सबै मन्त्रीहरू लोकसेवा पास गरेसरह रहेकाले अब्बल भएको भन्दै प्रशंसासमेत गरेको ती मन्त्रीले जानकारी दिए ।

सो क्रममा प्रधानमन्त्री बालेनले मज्जाले काम गर्न र जनसेवा तथा नागरिक सर्वोच्चतालाई आधार मानेर काम गर्न निर्देशन दिएका थिए ।

बालेनको भनाइ उद्धृत गर्दै ती मन्त्रीले दिएको जानकारी अनुसार मन्त्रीहरूलाई निर्देशन दिँदै कानुनी बाधा र अड्चन देखाएर काम रोक्ने गल्ती नगर्न भनेका थिए । साथै, बालेनले गलत निर्देशन कसैको नमान्न र सही काम कुनै पनि हालतमा नरोक्न निर्देशन दिएको पनि ती मन्त्रीले थपे । 

‘गलत निर्देशन कसैको पनि नमान्नू, कानुनलाई बाधा देखाएर काम भएन नभन्नू‚’ बालेनले भने ।

काम गर्ने क्रममा कुनै कानुनले बाधा पुर्‍याए दुईतिहाइ आफूहरूसँग रहेको र तुरुन्तै कानुनी सुधार गर्ने भन्दै बालेनले कानुनी अड्चन देखाएर काम नअड्काउन निर्देशन दिएका थिए ।