काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सर्वोच्च अदालत पुगेर आफूविरुद्ध दर्ता अवहेलना मुद्दामा तारिख बुझेका छन्।

सांसदको शपथ ग्रहण सम्पन्न गरेलगत्तै सोही पोसाकमै सर्वोच्च अदालतको प्रशासन शाखामा पुगेका उनले आगामी जेठ १४ गतेका लागि तोकिएको म्याद बुझेका हुन्। सर्वोच्च प्रशासनका अनुसार सो दिन उक्त मुद्दामा दुवै पक्षबीच सुनुवाइ हुने तय भएको छ।

ad

झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बालेनले शुक्रबार वैदिक परम्पराअनुसार प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ। शपथअगावै अदालतमा उपस्थित भएर कानुनी प्रक्रियामा सहभागी हुनु उनको कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बालेनविरुद्धको अवहेलना मुद्दा उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएपछि आएको प्रतिक्रिया सँग जोडिएको छ। तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला उनले सामाजिक सञ्जालमार्फत अदालतको आदेशप्रति असहमति जनाउँदै कडा टिप्पणी गरेका थिए।

उक्त अभिव्यक्तिलाई आधार मानेर अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्। उनले न्याय प्रशासन ऐन, २०७३ र सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम कारबाहीको माग गरेकी छन्।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले वारेसमार्फत तारिख बुझ्ने बालेनको निवेदन अस्वीकार गर्दै उनलाई स्वयम् उपस्थित हुन निर्देशन दिएको थियो। सोही आदेशअनुसार उनी आफैँ सर्वोच्च अदालतमा उपस्थित भएका हुन्।

अब जेठ १४ गते हुने सुनुवाइले बालेनविरुद्धको अवहेलना मुद्दाको आगामी बाटो निर्धारण गर्नेछ।