
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेतामा बालेन शाह चयन भएका छन्। आज केन्द्रीय कार्यालय च:मतिमा बसेको बैठकले सर्वसम्मत रूपमा शाहलाई संसदीय दल नेता चयन गरेको हो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन शाह संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति र संसदीय दलको नेताको रूपमा सभापतिद्वारा गरिएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ,’ प्रवक्ता मनिष झाले भने।
शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा फागुन २१ को निर्वाचनमा गएको थियो भने झन्डै दुई तिहाइ सिट जितेको छ।
आजै रास्वपा केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। उक्त बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दल नेता चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो।
केन्द्रीय समिति बैठक सकिएपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो।
रास्वपाको संसदीय दल नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। शाहले भोलि शपथ लिने कार्यक्रम पनि तय भएको छ।









Facebook Comments