काठमाडौं । देशभर लामो समयदेखि झेलिँदै आएको छिनछिनमा बत्ती जाने समस्या (ट्रिपिङ) मा चालु आर्थिक वर्ष उल्लेखनीय सुधार देखिएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा विद्युत् अवरोध हुने घटनाको संख्या र त्यसबाट हुने अवरोध समय दुवैमा स्पष्ट कमी आएको देखाएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार पछिल्लो समय प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण, सबस्टेसनको क्षमता अभिवृद्धि, र समस्या देखिएका स्थानमा तुरुन्त मर्मत–सम्भारको व्यवस्थापनले ट्रिपिङ नियन्त्रणमा निर्णायक भूमिका खेलेको छ। “अघिल्लो वर्षको तुलनामा ट्रिपिङको संख्या मात्रै होइन, अवरोधको अवधि पनि उल्लेख्य रूपमा घटेको छ, जसले उपभोक्तालाई प्रत्यक्ष राहत दिएको छ,” उनले बताए।

ad

तथ्याङ्कअनुसार साउन महिनामा गत वर्ष १२९ पटक ट्रिपिङ हुँदा ५९ घण्टा विद्युत् अवरोध भएको थियो। चालु वर्ष सोही महिनामा ट्रिपिङ घटेर ११५ पटकमा सीमित हुँदा अवरोध समय पनि ४४ घण्टामा झरेको छ। भदौमा १२८ पटकबाट घटेर ११५ पटकमा पुगेको छ भने अवरोध समय ६४ घण्टाबाट घटेर ४१ घण्टामा सीमित भएको छ।

असोज महिनामा पनि सुधार देखिन्छ। अघिल्लो वर्ष ११२ पटक ट्रिपिङ हुँदा ६१ घण्टा अवरोध भएकोमा यस वर्ष ९८ पटक ट्रिपिङ भए पनि अवरोध समय समान ६१ घण्टा नै रहेको छ, जसले केही क्षेत्रमा अझै सुधार आवश्यक रहेको संकेत गर्छ। कात्तिकमा ७१ पटकबाट घटेर ५९ पटक ट्रिपिङ हुँदा अवरोध समय ३८ घण्टाबाट घटेर ३१ घण्टामा झरेको छ।

मङ्सिरमा सुधार झनै उल्लेखनीय छ—६८ पटक ट्रिपिङबाट घटेर ३२ पटकमा सीमित भएको छ भने अवरोध समय ३२ घण्टाबाट घटेर १४ घण्टामा झरेको छ। पुसमा ५९ पटकबाट ५० पटकमा झर्दा अवरोध समय २८ घण्टाबाट घटेर १३ घण्टा पुगेको छ।

माघ र फागुन महिनामा पनि यही प्रवृत्ति कायम छ। माघमा ५४ पटकबाट घटेर ४४ पटक ट्रिपिङ हुँदा अवरोध समय २७ घण्टाबाट घटेर १२ घण्टा पुगेको छ। फागुनमा ६६ पटकबाट घटेर ४७ पटक ट्रिपिङ हुँदा अवरोध समय ३२ घण्टाबाट घटेर १२ घण्टामा सीमित भएको छ।

प्राधिकरणका अनुसार यो सुधार कुनै एक क्षेत्र वा प्रदेशमा मात्र सीमित छैन। सातै प्रदेशको तथ्याङ्कलाई विश्लेषण गर्दा ट्रिपिङको संख्या र अवरोध समय दुवैमा घट्दो प्रवृत्ति देखिएको छ। विशेषगरी सहरी क्षेत्रमा वितरण प्रणाली सुधार र ग्रामीण क्षेत्रमा लाइन मर्मत–सम्भारले सकारात्मक प्रभाव पारेको बताइएको छ।

शाक्यका अनुसार बढी ट्रिपिङ हुने सबस्टेसनहरूको पहिचान गरी त्यहाँको लोड व्यवस्थापन, वैकल्पिक लाइनमार्फत विद्युत् प्रवाह तथा उपकरण स्तरोन्नति जस्ता कामले दीर्घकालीन सुधारको आधार तयार पारेको छ। “हामीले केवल समस्या समाधान मात्र होइन, भविष्यमा समस्या नदोहोऱ्यिने गरी प्रणाली सुधारमा ध्यान दिएका छौँ,” उनले स्पष्ट पारे।

प्राधिकरणले पछिल्लो समय प्राविधिक जनशक्तिलाई तालिम दिने, २४ सै घण्टा मर्मत टोली परिचालन गर्ने र आकस्मिक समस्या समाधानका लागि छिटो प्रतिक्रिया दिने प्रणाली विकास गरेको छ। यसले विद्युत् अवरोध हुँदा पुनः आपूर्ति कायम गर्न लाग्ने समय घटाएको छ।

त्यसैगरी, डिजिटल अनुगमन प्रणाली, लोड पूर्वानुमान र स्मार्ट व्यवस्थापनका उपायले पनि ट्रिपिङ घटाउन योगदान पुर्‍याएको प्राधिकरणको दाबी छ। यसले विशेषगरी औद्योगिक क्षेत्र र व्यावसायिक उपभोक्तामा स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न सहयोग पुगेको बताइएको छ।

यद्यपि प्राधिकरणले चैत, वैशाख, जेठ र असार महिनालाई अझै चुनौतीपूर्ण अवधि मान्दै आएको छ। अघिल्लो वर्ष यी चार महिनामा हावाहुरी, चट्याङ र वर्षाका कारण ट्रिपिङको समस्या उल्लेख्य रूपमा बढेको थियो। चैतमा ८६ पटक, वैशाखमा १०९ पटक, जेठमा १५० पटक र असारमा १५३ पटक ट्रिपिङ भएको थियो।

यस वर्ष पनि मौसमजन्य जोखिम कायमै रहने भए पनि प्राधिकरणले पूर्वतयारीलाई मजबुत बनाएको जनाएको छ। उच्च जोखिम क्षेत्रहरूमा लाइन सुदृढीकरण, रूख कटान, उपकरण मर्मत तथा आकस्मिक टोली तयारी अवस्थामा राखिएको शाक्यले जानकारी दिए।

विद्युत् आपूर्ति स्थिर बन्दै जाँदा घरेलु उपभोक्ता मात्र होइन, उद्योग–व्यवसाय क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ। बारम्बार बत्ती जाने समस्याले उत्पादनमा अवरोध झेलिरहेका उद्योगहरूलाई राहत मिल्न थालेको छ भने सेवामूलक क्षेत्रको कार्यक्षमता पनि बढेको छ।

प्राधिकरणले आगामी दिनमा अझ भरपर्दो, गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ। “हाम्रो लक्ष्य ट्रिपिङलाई न्यूनतममा झार्ने र उपभोक्तालाई अविच्छिन्न विद्युत् सेवा उपलब्ध गराउने हो,” शाक्यले बताए।

समग्रमा हेर्दा चालु आर्थिक वर्षमा ट्रिपिङ नियन्त्रणतर्फ देखिएको सुधारले नेपालमा विद्युत् व्यवस्थापन प्रणाली क्रमशः सुदृढ बन्दै गएको संकेत दिएको छ। आगामी महिनाहरूमा पनि यही प्रवृत्ति कायम रह्यो भने उपभोक्ताले झनै भरपर्दो विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।