
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण लगत्तै पार्टी मुख्यालय च्यासलमा उपस्थित हुन निर्देशन दिएको छ।
आज दिउँसो २ बजे संघीय संसद् भवन मा हुने शपथ समारोहपछि अपराह्न ३ बजे सबै सांसदलाई च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको पार्टी स्रोतले जनाएको छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली ले संसदमा पार्टीको भूमिका, रणनीति तथा वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत ब्रिफिङ दिने कार्यक्रम रहेको छ। यसलाई आगामी संसदीय गतिविधिका लागि मार्गनिर्देशक बनाउने तयारी गरिएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिट हासिल गरेको छ। संख्या सीमित भए पनि संसदमा प्रभावकारी उपस्थिति जनाउने रणनीतिमा पार्टी केन्द्रित देखिएको छ।
एक नवनिर्वाचित सांसदका अनुसार शपथपछि सांसदहरू सिधै च्यासल जाने तयारीमा छन्। 'शपथपछि पार्टी कार्यालय पुग्न निर्देशन आएको छ, बैठक महत्वपूर्ण हुने भनिएको छ,' उनले बताए।
बैठकमा संसदीय अनुशासन, विधेयकमा पार्टीको धारणा, बहसका प्राथमिकता र सरकारप्रतिको दृष्टिकोणबारे स्पष्ट निर्देशन दिइने जनाइएको छ। साथै विपक्षी दलहरूसँगको व्यवहार र संसदमा प्रस्तुत हुने शैलीसमेत निर्धारण गरिनेछ।
त्यसैगरी मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक चुनौती, सुशासनका सवाल र जनचासोका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी पनि छ। अध्यक्ष ओलीले यी विषयमा सांसदहरूलाई एकीकृत सन्देश दिन आग्रह गर्ने अपेक्षा गरिएको छ।
यसपटक एमालेबाट निर्वाचित केही नयाँ अनुहारहरूलाई संसदीय अभ्यासबारे अभिमुखीकरण आवश्यक भएकाले पनि बैठकलाई विशेष महत्व दिइएको छ। अनुभव र नयाँ सोचको संयोजनमार्फत संसदमा प्रभाव बढाउने रणनीतिमा पार्टी देखिएको छ।
शपथलगत्तै बोलाइएको बैठकले एमालेले आफ्नो संसदीय भूमिकालाई गम्भीरतापूर्वक लिएको संकेत दिएको छ।










Facebook Comments